प्रधानमन्त्री ओलीले नियमित डायलासिस की पुनः मिर्गौला प्रत्यारोपण


न्युज अफ नेपाल, काठमाडाैं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे सचिवालय सदस्यलाई जानकारी गराएका छन्।

शनिबार बालुवाटारमा सचिवालय बैठक राखेर प्रधानमन्त्रीले मिर्गौलामा समस्या आएको र शरीरमा पानी जम्मा हुने समस्या देखिएकोले अब नियमित डायलासिस गर्नुपर्ने जानकारी गराएका हुन्।

डायलासिसको विकल्पमा पुनः मिर्गौला प्रत्यारोपण रहेको पनि प्रधानमन्त्री ओलीले बताएका थिए।

बैठकमा उपस्थित एक नेताका अनुसार अस्पतालबाट सबै रिपोर्ट आएपछि नियमित डायलासिस नै गर्ने वा पुनः मिर्गौला प्रत्यारोपण गर्ने टुंगो लाग्छ।

प्रधानमन्त्रीले ग्राण्डी अस्पतालमा दुई पटक डायलासिस गरेको र अब शनिबार या आइतबार फेरि डायलासिस गर्नुपर्ने बैठकमा जानकारी गराएका हुन्।

आफ्नो स्वास्थ्य अवस्था बिग्रँदै गएको पनि प्रधानमन्त्री ओलीले जानकारी गराएका थिए।

बैठकपछि पत्रकारहरूसँगको कुराकानीमा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्रीले स्वास्थ्य अवस्था जानकारी गराएको उल्लेख गरे।

प्रधानमन्त्री ओलीको १२ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसपछि उनले नियमित औषधि सेवन गर्दै आएका छन्। साउन र भदौमा दुई पटक सिंगापुरमा प्रधानमन्त्री ओलीको उपचार गरिएको थियो।

प्रधानमन्त्री ओलीले अब साताको तीन पटक डायलासिस गर्नुपर्ने चिकित्सकहरूले बताएका छन्।