ढुवानीमा भ्याट प्रणाली कुनै हालतमा कार्यान्वयन हुन दिदैनौं : अध्यक्ष श्रेष्ठ


यमलाल भुसाल, बुटवल ।

सरकारले लागु गर्न खोजेको ढुवानीमा भ्याट प्रणाली कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बताउनु भयो ।

ढुवानी व्यवसायीको पेशा नै संकटमा पार्ने गरि सरकारले लागु गर्न खोजेको ढुवानीमा भ्याट प्रणालीका विरुद्ध जस्तो सुकै आन्दोलन गर्न परेपनि महासंघ पछि नहटने अध्यक्ष श्रेष्ठले चेतावनी दिनु भयो ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश ५ ले शनिवार रुपन्देहीको नयाँमिलमा आयोजना गरेको प्रदेश भेलामा वोल्दै अध्यक्ष श्रेष्ठले २०७१ साल पछि ढुवानीमा भाडा समायोजन नभएकाले समय सापेक्ष्य भाडा समायोजन गर्न सरकारसंग माग गर्नु भयो ।

उहाँले सरकार र यातायात व्यवसायी बीच भएको तौलपुल कार्यविधी कार्यान्वयन नहुदाँ व्यवसायी संस्थाले गरेको लगानीको प्रतिफल प्राप्त हुन नसकेको र ओभरलोड नियन्त्रण हुन नसक्दा सडकको अवस्था जिर्ण बन्दै गएको धारणा राख्नु भयो ।

उहाँले संघ संस्था नविकरण र उनिहरुका बैक खाता कुनै पनि हालतमा नरोकिने बताउदै यातयात व्यवसायी बीच एकता जरुरी रहेको पनि बताउनु भयो ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका निर्वमान अध्यक्ष अर्जुन रानाभाटले व्यवसायीलाई प्रोत्साहन हुने गरि सरकारले नीति बनाउन जरुरी रहेको उल्लेख गर्नु भयो ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव अधिकारीले भारतीय गाडीको ओभर लोड नियन्त्रण गरि नेपाली यातयात व्यवसायीको व्यवसाय बचाउन महासंघ गम्भिर हुनु पर्नेमा जोड दिनु भयो ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले भारती गाडीको ओभर लोड नियन्त्रणका लागि सडकमा सुत्न परेपनि व्यवसायी तयार रहनु पर्ने बताउदै ओभर लोड नियन्त्रण बिना नेपाली व्यवसायीको पेशा सुरक्षित नहुने जिकिर गर्नु भयो ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश ५ का संयोजक यम प्रसाद पाण्डे,महासंघका संस्थापक महासचिव महेन्द्र हमाल,महासंघका महासचिव राजेन्द्र विक्रम वानिया निर्वमान वरिष्ठ उपाध्यक्ष हिरालाल श्रेष्ठ, सल्लाहकार विष्णु प्रसाद न्यौपाने पुर्व वरिष्ठ उपाध्यक्ष गोकर्ण पराजुली केन्द्रिय सदस्य विष्णु खरेल, प्रताव बहादुर कार्की प्रदेश पाँचका सल्लाहकार जित बहादुर भाट लगायतले सरकारले यातयात व्यवसायीका समस्या बुझेर कानुन बनाउन माग गर्नु भयो । सोही समारोहमा प्रदेशमा नियुक्त हुनु भएकालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।