धुलिखेल र धरान उपमहानगरपालिका बीच भगिनी सम्बन्धमा सम्झौता


मोतीराम तिमल्सिना, काभ्रे ।

धुलिखेल नगरपालिका र धरान उपमहानगरपालिका बीच भगिनी सम्वन्ध कायम भएको छ । दुबै नगरपालिकाका जनप्रतिनिधिहरुको सामुहिक भेटभाट र सम्झौता पश्चात भगिनी सम्वन्ध कायम भएको हो । धुलिखेल नगरपालिकाका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठको नेतृत्वमा धुलिखेलबाट उपप्रमुख विमला शर्मा, वडा अध्यक्षहरु, कर्मचारीहरु सहितको टोली धरान उपमहानगरपालिकाको निमन्त्रणामा विहिबार देखि धरान पुगेको थियो ।

दुवै नगरपालिका बीच भगिनी सम्वन्ध कायम गरी विकास तथा अनुभव आदान प्रदान गर्ने उदेश्यले भगिनी सम्वन्ध कायम गरिएको धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । ‘शताब्दी अगाडीको पारिवारिक तथा व्यापारिक सम्बन्धलाई मूर्तरुप दिन धुलिखेल नगरपालिका र धरान उपमहानगरपालिका बीच कृषि, व्यापार, पर्यटन, संस्कृति, शिक्षा, व्यक्तित्व विकास, पारस्परिक सम्बृद्धि, व्यवसायीक क्षमता अभिवृद्धि गर्ने उदेश्यले भगिनी सम्वन्ध कायम गरिएको हो’–नगरपालिका प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो ।

‘नगरपालिकाका विभिन्न क्षेत्रहरुमा सक्रिय तथा प्रभावकारी रुपमा सहयोग आदान–प्रदान तथा सहकार्य अभिवृद्धि गर्दै दुवै तर्फको साझा सम्मृद्धि तथा विकास प्रवर्द्धन गर्ने उद्देश्यले भगिनी सम्वन्ध कायम गरिएको छ’–उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले बताउनु भयो । शुक्रबार धरान उपमहानगरपालिकामा आयोजित एक कार्यक्रममा दुबै नगरपालिकाका प्रमुखहरुले भगिनी सम्वन्धको सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो ।

धुलिखेल उपत्यकासँग जोडिएको पर्यटकिय शहर हो । शिक्षा, स्वास्थ्य सँगै पर्यटकिय क्षेत्रमा विकास हुँदै गएको धुलिखेलको थप विकासमा भगिनी सम्वन्धले टेवा पुग्ने विश्वास लिएको छ । धरान उपमहानगरपालिका आन्तरिक र बाह्य पर्यटकहरुको आर्कषण बन्दै गएको छ । धरानको विकास र धुलिखेलको विकासका मोडलहरु र अनुभवहरु आदान प्रदान गर्न भगिनी सम्वन्धले थप मद्दत पुर्‍याउने छ ।
धुलिखेल समाज धरानद्वारा स्वागत

धुलिखेलको विकासका लागि धरान उपमहानगरपालिकासँग गरिएको भगिनी सम्वन्धको धुलिखेल समाज धरानले स्वागत गरेको छ । समाजका अध्यक्ष दिपक कोँजुले धुलिखेलबाट धरान पुगेको जनप्रतिनिधि र कर्मचारीहरुको टोलीलाई भब्य स्वागत गर्दै धरानको विकासबाट धुलिखेलले धेरै सिक्नु पर्ने बताए ।

धुलिखेलमा भएका विकासबाट धरान र धरानमा भएको विकासबाट धुलिखेलले सिक्दै दुई नगर बीचको सम्वन्धलाई अझै प्रगाढ बनाउन मद्दत पुग्ने दिपक कोँजुले बताउनु भयो । धुलिखेल नगरपालिकाको विकासमा समाजको तर्फबाट सक्दो सहयोग पुर्‍याउने कोँजुले बताउनु भयो । धुलिखेल नगरपालिकाले समाजको विकासका लागि ५ लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराएको छ ।