राष्ट्रपति भण्डारीद्धारा राष्ट्रिय पोषण अभियानको शुभारम्भ


न्युज अफ नेपाल, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पोषण अभियानको शुभारम्भ गर्नुभएको छ ।

जन्मेको ६ महिनादेखि २३ महिनासम्मका बालबालिका, गर्भवती आमा, प्रजनन उमेरका महिलालाई आवश्यक पर्ने पोषक तत्व खाद्यान्नमार्फत उपलब्ध गराउने ध्येयले बलियो नेपालु नामक गैरसरकारी संस्थाले शुक्रबादेखि यो अभियानको सुरुवात गरेको हो ।

राष्ट्रिय योजना आयोगद्वारा कार्यान्वयनमा रहेको दोस्रो बहुक्षेत्रीय पोषण कार्ययोजना (२०१८–२०२२) लाई थप सहयोग पुर्‍याउने अभियानको उद्देश्य रहेको छ । बालबालिकालाई पोषणयुक्त, स्वच्छ, पोषिलो आहार उपलब्ध गराई उनीहरुको समग्र जीवनलाई स्वस्थ्य बनाउने र बालबालिकाका अभिभावकलाई समेत आफ्ना बालबालिकालाई कस्तो आहार खुवाउने भन्ने जानकारी दिने काम अभियानले गर्नेछ ।

पहिलो चरणमा प्रदेश नम्बर ५ बाट कार्यान्वयन हुने र सबै प्रदेशमा क्रमशः लागू गर्दै जाने अभियानले जनाएको छ । अभियान सरकारी र निजी क्षेत्रको सहकार्य तथा बिल एण्ड मिलिण्डा गेट्स फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालन हुने जनाइएको छ । नेपालमा पछिल्लो समय कुपोषणका कारण हुने पुड्कोपनमा उल्लेखनीय सुधार आउन सकेको छैन ।