टेक्निकल सोलुसन निकालेर पुल निर्माण गर्नुसः राजदुत पुरी


किरन धामी, दार्चुला ।

महाकाली नगरपालिकाको वडा नम्बर ८ स्थित निर्माण गरिने नेपाल‐भारत जोड्ने मोटरपुलको निर्माण स्थलमा आएको प्राविधिक समस्यालाई हल गरेर पुल निर्माणको कार्य अघि बढाउन नेपालका लागी भारतिय राजदुत मञ्जिव सिंह पुरीले प्राविधिकहरुलाई निर्देशन गर्नु भएको छ ।

पुल निर्माण हुने स्थानको स्थलगत अनुगमन गर्न दार्चुला पुग्नु भएका राजदुत पुरीले पुल निर्माणमा संलग्न भारतिय लोकनिर्माण विभागका ईन्जिनियरलाई प्राविधिक समस्यालाई हल गरेर यथासाक्य पुलनिर्माणको कार्य अगाडी बढाउनु निर्देशन गर्नु भएको हो ।

राजदुत पुरीले महाकाली नगरपालिकाको वडा नम्बर ८ स्थित सुरकडा र काकडा क्षेत्रमा पुगेर पुल निर्माण हुने स्थानको स्थलगत अनुगमन गर्नु भएको हो । यस अघि नगरपालिका वडा नम्बर ८ सुरकडा र भारतको पिथौरागढ जिल्ला धारचुला तहसिल अन्तर्गतको छारछुम जोड्ने स्थानमा निर्माण पुल निर्माणका लागी भारतिय लोकनिर्माण विभागका प्राविधिकहरुले दुवै तर्फको माटो परिक्षण गरेका थिए ।

माटो परिक्षण गर्दा भारत तर्फको पुलनिर्माण साइडको माटो कम्जोर देखिएका कारण ठाउँ परिवर्तन गर्नु पर्ने अवस्था आएको प्राविधिकहरुले रिर्पोट बुझाएका थिए ।
अन्तराष्ट्रिय सिमा नदिमा निर्माण हुने मोटर पुलले दुई देश विचको दुरीलाई अझ कम गर्ने तथा व्यापार व्यवसायलाई समेत टेवा पुग्ने राजदुत पुरीको भनाई थियो ।

दुई सरकारको निष्ठाका रुपमा रहेको मोटर पुलको प्राविधिक हल निकालेर कार्य अघि बढाउन राजदुत पुरीले प्राविधिकहरुलाई निर्देशन गरिसक्नु भएको छ । महाकाली नदिमाथी निर्माण हुने नेपाल‐भारत जोड्ने मोटर पुल अति महत्वपुर्ण भएको तथा पुलले दुई देशको सभ्यतालाई जोड्ने समेत उहाले बताउनुभयो ।

महाकाली नगरपालिकाका वडा नम्बर ८ को सुरकडा र धारचुला तहसिल अन्तर्गतको छारछुम जोड्ने गरी गत आर्थिक वर्ष २०७५÷०७६ को असोज १५ गते देखी पुल निर्माणको कार्य सुरु हुने भने पनि पुल निर्माण साइडको भु‐भाग कम्जोर देखिएका कारण पुल निर्माणको कार्य हुन सकेको थिएन । मोटर पुलको निर्माण भारत सरकारले गर्ने लोक निर्माण विभाग भारतले जनाएको छ ।

पुल निर्माणमा कुल २३ करोड २७ लाख ३६ हजार लागतमा लाग्ने अनुमान गरिएको छ । महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले पुल निर्माणका लागी यसअघि सर्वे गरिएको स्थान भन्दा १÷२ सय मिटर तलमाथी पक्की भु‐भाग हेरेर निर्माण गर्न अनुरोध गर्नु भएको छ ।

महाकाली नदिमाथी नेपाल–भारत जोड्ने मोटर पुल बन्ने भए पछि याहाका स्थानिय हर्षित भएका छन् । आफुले उत्पादन गरेका कृषि उपजहरुको व्यापार व्यवसाय फस्टाउने तथा अन्य सामाग्री आयात निर्यातमा सहजता हुने भन्दै स्थानिय खुसी भएका हुन् । सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला पछि दार्चुला जिल्लामा नेपाल–भारत जोड्ने मोटर पुल बन्ने भएको छ ।