सामान्य प्रशासन मन्त्री पण्डितले विकास कार्यक्रममा एक्लौटी गरेको भन्दै कांग्रेसद्वारा बैठक बहिष्कार


रोशनी भट्टराई, विराटनगर ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निर्वाचन क्षेत्र विकास कार्यक्रममा एक्लौटी रुपमा योजना प्रस्तुत गरेको कांग्रेसका जनप्रतिनिधिहरुको गुनासो छ ।

कांग्रेस सांसद तथा स्थानीय तहका प्रमुखले मन्त्री पण्डितले विराटनगरमा आयोजना गरेको बैठक नै बहिस्कार गरेका छन् । यसअघि भएको बैठकमा भने मन्त्री पण्डितले सांसद तथा स्थानीय तहका प्रमुखलाई आ–आफ्नो योजना ल्याउन आग्रह गर्नूभएको थियो । तर, योजना कार्यान्वयन गराउने स्थानीय तहलाई नै वेवास्ता गर्दे पण्डित अघि बढेको जनप्रतिनिधिहरुको गुनासो छ ।

बैठकमा ल्याएको कुनैपनि योजनालाई मान्यता नदिई आफ्नो मात्र अड्डी राखेर पण्डित अघि बढेपछि बैठक बहिस्कार गरेको प्रतिनिधिसभका कांग्रेस सांसद डाक्टर डिला संग्रौलाले बताइन । अघिल्लो वर्ष पनि पण्डितले अरु सबैका योजना समेट्ने आश्वासन दिंई माइनुटमा हस्ताक्षर गरेको बताउदै अन्त्यमा आफ्नो मात्र योजना समावेश गरेको उनको भनाई थियो ।

शुक्रबार जिल्ला समन्वय समितिको सभाकक्षमा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत योजना छनोट गर्न पण्डितले नै बैठकमा बोलाएका थिए । चालू आर्थिक वर्षमा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि संघीय सरकारले हरेक निर्वाचन क्षेत्रलाई ६ करोड विनियोजन गरेको छ । कार्यविधिअनुसार प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा गठन भएको समितिले सिफारिस गरेको आधारमा स्थानीय तहले ती विकासका कार्यक्रम कार्यान्वयन गर्नुपर्छ । पण्डित मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट निर्वाचित भएका हुन ।

पण्डित संयोजक रहेको समितिमा कांग्रेसबाट निर्वाचित राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, बुढीगंगा गाउँपालिकाका प्रमुख बालचन्द्र माझी र जिसस मोरङका प्रमुख नरेश पोखरेल सदस्य छन् । दुई सांसद र तीन पालिकाका प्रमुख कांग्रेसबाट निर्वाचित हुन ।

राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले मन्त्री पण्डितले स्थानीय सरकारले योजनागत रुपमा तलबाट छनोट गरेर ल्याएको प्रस्तावलाई समेत बेवास्ता गरी आफ्ना कार्यकर्ता र आफ्नो पार्टीको स्वार्थ अनुकूल योजना प्रस्तुत गरेको बताए । रायमाझीले विकासका योजनालाई समेत मन्त्री पण्डितले राजनीतिको चश्माले हेरेको र साझेदारी गर्न नचाहेकोले आफूहरुले बहिस्कार गरेको बताए ।

अघिल्लो वर्ष पनि यसरी नै मनोगत रुपमा परियोजना ल्याइँदा कार्यान्वयनमा नगएको र धेरै बजेट फिर्ता गएको बताउँदै सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले स्थानीय तहबाट कार्यान्वयन हुने भएकोले तलबाट सिफारिस भएका योजनालाई पनि स्थान दिन अनुरोध गरिएको तर सुनुवाई नभएको उनको भनाई थियो ।

कूल बजेटमध्ये ३ करोडका योजना कांग्रेसका सांसद तथा स्थानीय प्रमुखले प्रस्ताव गरेका थिए । यस विषयमा पनि मन्त्री पण्डितले सहमत नभएको सांसद रायमाझीले बताए ।