महराद्धारा ७ वर्षदेखि रक्सी नखाएको बयान


न्युज अफ नेपाल, काठमाडौं ।

संसद् सचिवालयमा काम गर्ने एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अदालतसमक्ष इन्कारी बयान दिएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले बिहीवार काठमाडौं जिल्ला अदालतमा जबरजस्तीकरणी उद्योगअन्तर्गतको मुद्दा दर्ता गरेपछि थुनछेक बहसअघि शुक्रवार अदालतमा महराको बयान भएको हो ।

जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेसमक्ष महराले इन्कारी बयान दिएको अधिवक्ता पद्मा आचार्य सुवेदीले जानकारी दिइन् ।
स्रोतका अनुसार महराले पीडित भनिएकी रोशनी शाहीसँग २०४७ सालदेखि आफ्नो पारिवारिक सम्बन्ध रहेको बयान दिएका छन् ।

रोशनी डिप्रेसनको रोगी भएको र मर्छु भनेर बेलाबेला आफूलाई धम्की दिने गरेको प्रसंग उल्लेख गर्दै महराले सो दिनपनि रोशनीको धम्कीपछि आफू उनको डेरातर्फ गएको तर फोन नउठेपछि फर्किएको बयान दिएका छन् ।

रोशनीले धम्की दिइरहेपछि मैले उनको श्रीमानलाई फोन गरेँ, उनले फोन उठाएनन् । त्यसपछि रोशनीलाई फोन गरेँ, उनले पनि उठाइन् । फोन गर्दै म उनको डेरातर्फ गएँ । फोन नउठेपछि बाहिरैबाट फिर्ता भएँ ।

कोलेस्ट्रोल र युरिक एसिडको समस्या भएपछि ७ वर्षदेखि डाक्टरको सल्लाहमा आफूले रक्सी नखाएकाले हिमालयन रिजर्भ भन्ने रक्सीबारे आफूलाई केही थाहा नभएको महराले बयानमा भनेका छन् ।

महराले घटनामा आफ्नो संलग्नता नरहेको बेहोराको निवेदन गत असोज १५ गते प्रहरीलाई निवेदन दिएको तर उक्त निवेदन उपर कुनै कारवाही र त्यसलाई अदालती प्रक्रियामा प्रवेश नराएको भन्दै गुनासो समेत गरेका छन् ।

त्यस्तै,उनले भने–‘१२ वर्षसम्म पढाएँ । विद्यार्थीलाई समेत कहिल्यै पिटिनँ ।‘ आरोप लगाइए जस्तैगरी यदि आफू त्यहाँ गएको र गलत नियत राखेर कुटपीट गरेको भए संवेदनशील अंगहरूमा घाउचोट लाग्नुपर्ने जिकिर पेश गर्दै महराले आफूले त रोशनीको हातखुट्टामा मात्र चोट रहेको भन्ने सुनेको बताएका छन् ।

महराले पार्टीभित्र पनि आफू भलाद्मी र समन्वयकारी छवीको नेताका रूपमा चिनिने कुरा उल्लेख गरे, कसले खै किन मलाई फसाउन खोज्यो थाहा भएन, महराले बयानमा भनेका छन् ।

गत असोज १९ गते बालुवाटारबाट पक्राउ परेका महरामाथि आजै काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ । थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि जेल चलान गर्नेमध्ये एक आदेश हुनेछ ।