न्यायाधीश पाण्डेको एकल इजलाशमा महराले दिए यस्तो बयान


न्युज अफ नेपाल, काठमाडौँ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन हिंसा गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराले आफू शाहीको कोठामा नगएको बयान दिएका छन् । शुक्रबार जिल्ला अदालत काठमाडौँमा प्रमुख न्यायाधीश सुदर्शन राज पाण्डेको एकल इजलाशमा लिइएको बयानमा महरा सो कुरा बताएका हुन् ।

महराले विगत लामो समयदेखि शाहीसँग पारिवारिक सम्बन्ध रहेको दावी गर्दै उक्त दिन फोनमा मात्र कुराकानी भएको निाएका छन् । महराले आफूलाई फसाउन षड्यन्त्र गरिएको बताउदै शाहीको किटानी जाहेरीमा सत्यता नरहेको जनाएका छन् । यसका साथै घटना भएको बताइएको दिन आफुले मदिरा सेवन नगरेको र प्रहरीद्वारा संकलन गरिएका प्रमाण समेत झुट्टो रहेको महराले बताए ।

शाहीले कर्मचारी समायोजनको विषयमा रहको असन्तुष्टिका कारण बदला स्वरुप आफुमाथि यस्तो आरोप लगाएको महराको भनाइ छ ।