पेस्तोलसहित ६ जना पक्राउ

0
Shares

बाँके । नेपालगंज उपमहानगरपालिका–२० मा रहेको नमस्ते भिलेज रिसोर्टबाट पेस्तोलसहित ६ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० नमस्ते भिलेज रिसोर्टबाट बिहिबार राति साढे ८ बजे पेस्तोलसहित ६ जनालाई पक्राउ गरेको जनाएको छ ।

नमस्ते भिलेज रिसोर्टमा पार्क गरिएको बा १८ च ४२११ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा चालक बस्ने सिटमुनि लुकाइराखेको मेड इन युसए लेखेको अटोमेटिक पेस्तोल बरामद भएपछि उनीहरू पक्राउ परेका हुन् । गोली भरिएको उक्त पेस्तोलसहित बरामद गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताएका छन् ।

शाहीका अनुसार पेस्तोलसहित पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका-१३ रामबाघ बस्ने ३२ वर्षीय सन्दीपजंग शाह, दिनेश शाही, राघव शाह सानु , माधव नेपाली, जयबहादुर बुढा र प्रीतम थापा मगर छन्। उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सन्दीपजंग शाह तरुण दल नेपालगन्जका नगर अध्यक्ष पनि हुन्।