छठ पर्वअन्तर्गत दोस्रो दिन ‘खरना’ मनाइँदै


न्युज अफ नेपाल, काठमाडौं ।

छठ पर्वअन्तर्गत दोस्रो दिन आज (शुक्रबार) ‘खरना’ मनाइँदैछ । छठको दोस्रो दिन अर्थात पञ्चमी तिथिलाई ‘रसियाव रोटी’ पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रतालुहरु यसदिन दिनभर उपवास बस्छन् ।

साँझपख नुहाएर चोखो भई कुल देवताको पूजा कोठामा माटोको नयाँ चुल्हो बनाएर सख्खर राखेर खीर तथा माटोको भाँडोमा गहुँको रोटी पकाउँछन् । उक्त ‘रसीआव रोटी’ चन्द्रोदयपछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि व्रतालुहरुले खाने गर्दछन् । त्यसपछि उनीहरु पानीसमेत नपिई व्रत बस्छन् ।

जतिवटा अर्घ दान गर्ने हो, त्यति ठाउँमा केराको पातमा राखेर छठीमातालाई नैवेद्य चढाउने गरिन्छ । यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा, मूला, अदुवा, पान, सुपारी आदि राखिन्छ । नैवेद्य चढाइसकेपछि व्रतालु र परिवारजनले प्रसाद ग्रहण गर्छन् ।

यस पर्वमा व्रतालु महिलाहरु नहाय खायको दिनदेखि शारीरिक शुद्धताको ख्याल गरी ब्रह्मचार्यको समेत पालना गर्दछन् । नहाय खायको दिनदेखी छठी माईको घरमा आगमन भएको धार्मिक मान्यता अनुसार छठ सम्पन्न नभएसम्म घरका अन्य सदस्यहरुले समेत शुद्ध शाकाहारी भोजन गर्दछन् ।

चार दिनसम्म चल्ने छठ पर्व बिहीबारबाट विधिवत शुरु भएको छ । अहिले काठमाडौं उपत्यकासहित तराई मधेसका जिल्लामा छठको विशेष रौनक छ । नदी, पोखरी र खोला किनारहरुमा बनाइएको छठ घाट झकिझकाउ छन् । छठीमाताको भक्तिगानले गुन्जिरहेका छन् ।

कठोर व्रत गरेर मनाइने छठ पर्व कात्तिक शुक्ल पक्षको चतुर्थी तिथिबाट विधिवत शुरु भई सप्तमी तिथिमा बिहान सूर्यलाई अर्घ दिएर समाप्त हुन्छ ।