उपकुलपतिका लागि ४० जनाले बुझाए विवरण

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ६ विश्वविद्यालयका उपकुलपति र दुई विश्वविद्यालयका सेवा आयोगका अध्यक्षसहित सदस्य हुन इच्छुकलाई आवेदन माग गरेपछि ४० जनाले आवेदन दिएका छन्।सात दिनभित्र आफ्नो व्यक्तिगत संक्षिप्त विवरण बुझाउन शिक्षा मन्त्रालयले आह्वान गरेपछि शिक्षा क्षेत्रमा योगदान दिएका व्यक्तिहरूले हिजो बिहीबारसम्म व्यक्तिगत विवरण पेस गरेका हुन्।

‘उनीहरूले इमेल, मन्त्रालयको उच्च शिक्षा महाशाखा, मन्त्रीको सचिवालय र सचिवलाई नाम उपलब्ध गराएका हुन्।’ –मन्त्रालय स्रोतले नेपाल समाचारपत्रसँग भन्यो। इमेलबाट आवेदन नहाल्नेले मन्त्रालयमै पुगेर पनि बुझाउन सक्ने व्यवस्था गरेपछि कतिपयले मन्त्रालयमै गएर आफ्नो योग्यतासहितको व्यक्तिगत विवरण बुझाएका हुन्।

मन्त्री गिरिराजमणि पोखरेलले उपकुलपतिका लागि आफूलाई समेत केही व्यक्तिले व्यक्तिगत विवरण उपलब्ध गराएको जानकारी दिँदै भन्नुभयो– ‘विवरण माग गरेलगत्तै करिब ४० जनाले नाम दिएका छन्।’उहाँका अनुसार आज शुुक्रबार वा आज नभए आइतबारसम्म पहिलोचरणको नाम सार्वजनिक गर्ने तयारी छ।

मन्त्रालयले कात्तिक ७ गते पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति र सेवा आयोगका अध्यक्ष, कृषि तथा वन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, सेवा आयोगका अध्यक्ष र सदस्यका लागि संक्षिप्त व्यक्तिगत विवरण मागेको थियो।यस्तै ९ गते पोखरा, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट गर्न आन्तरिक सूची मागिएको थियो।

विश्वविद्यालयका सहकुलपति एवं मन्त्री पोखरेल, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदी, राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा) उषा झासहितको सर्च कमिटीले सकभर चाँडै नाम टुङ्गो लगाएर विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी ओलीसमक्ष सिफारिस गर्ने जनाएको छ।

सर्च कमिटीले छनोटमा परेका विज्ञको अन्य विवरण माग गरी थप अध्ययन गर्ने तथा आएका नामको विषयमा अध्ययन गरी उपकुलपति हुनलायक व्यक्तिको नाम सिफारिस गर्ने मन्त्री पोखरेलको भनाइ छ।

‘हामीले त सिफारिस गर्ने मात्र हो, कुलपतिको हैसियतमा प्रमले उपकुलपति नियुक्ति गर्नुहुनेछ’ –मन्त्री पोखरेलले भन्नुभयो। समितिले एक विश्वविद्यालयमा तीन जनाको नाम सिफारिस गर्नेछ।

स्रोतका अनुसार प्राडा. काशीनाथ न्यौपाने, नवराज देवकोटा, दुर्गामणि गौतम, मेदिनीप्रसाद शर्मा नेपाल, ऋतुप्रसाद गड्तौला, भागवत शर्मा, गोविन्द सुवेदी, रामप्रसाद उप्रेती, डा. रामसागर पण्डित, मातृकाप्रसाद तिमल्सिना, प्रा. श्यामसुन्दर पन्तलगायतले व्यक्तिगत विवरण र योग्यता पेस गर्नुभएको छ।

मन्त्री पोखरेलले योग्यताको आधारमा छनोट गर्न आवेदन माग गरेको बताउनुभयो। उत्कृष्ट र विज्ञले विश्वविद्यालयलाई हाँक्न सक्ने जनाउँदै आवेदन माग गरेको उहाँको भनाइ थियो।
यसअघि सहकुलपति एवं मन्त्री पोखरेलको अध्यक्षतामा गठित सर्च कमिटीले दशैंअघि त्रिविका उपकुलपतिमा तीनजनाको नाम सिफारिस गरेको थियो।

समितिले डा. भगवान् कोइराला, प्राडा. धर्मकान्त बास्कोटा र प्राडा. चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको छ। कुलपति एवं प्रम ओलीले त्रिविबाहेक अन्य विश्वविद्यालयको हकमा योग्यता र विशिष्टताको आधारमा उपकुलपति छनोट गर्न मापदण्ड बनाएर आवेदन माग गर्न निर्देशन दिएपछि मन्त्रालयले सूचना जारी गरेको थियो।