महराविरुद्ध जबरजस्ती करणी उद्योग मुद्दा दर्ता,साढे सात वर्ष कैद सजाय माग

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

यौन हिंसाको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योग दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध करणी उद्योग गरेको पुष्टि भएको भन्दै मुद्दा दर्ता गरेको हो।

संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महराबाट आफू यौन हिंसामा परेको आरोप लगाएपछि महरालाई गत असोज १९ गते पक्राउ गरिएको थियो। प्रहरीले २० दिन अनुसन्धान सकेर गत शुक्रबार सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो।

तिहार बिदापछि उक्त कार्यालयले बिहीबार महराविरुद्ध जबरजस्ती करणी उद्योगमा कैद मागदाबीसहित अभियोग दर्ता गरेको उक्त कार्यालयका सूचना अधिकारी नुमराज खनालले जानकारी दिनुभयो।

‘प्रहरीको रायसहितको प्रतिवेदनका आधारमा महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा अभियोजन गर्ने निर्णय भएअनुसार मुद्दा दर्ता भएको हो। यसमा सोहीअनुसार कैद मागदाबी गरिएको छ’, उहाँले पुष्टि गर्दै भन्नुभयो।

मुलुकी फौजदारी संहिता ऐन, २०७४ को दफा २१९ को उपदफा ३ (ङ) बमोजिम बलात्कार प्रयाससम्बन्धी कसूरमा कैद तथा सजायको माग गरिएको छ। उक्त संहिताको दफा २ सय १९ को उपदफा ३ (ङ) मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म कैद हुने र उद्योग गरेको भए त्यसको आधा सजाय हुने व्यवस्था छ।

सोही ऐनको दफा ३४ को उपदफा ३ मा कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसूरको लागि तोकिएको सजायको आधा सजाय हुने उल्लेख छ।यस्तै फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १५ को उपदफा २ (१) ङ अनुसार कुनै सरकारी कार्यालय वा सार्वजनिक वा संगठित संस्थाको पद वा ओहदामा बहाल रही त्यस्तो पद वा ओहोदाको दुरुपयोग गरी कसूर गर्ने कसूरदारलाई त्यस्तो कसूरमा हुने सजायको डेढ गुणा सजाय हुने व्यवस्था छ।

महरालाई पक्राउ परेयता चार दिन हिरासतमा राखी बिरामी भएकाले नर्भिक अस्पतालमा राखिँदै आएको छ। उक्त घटनामा काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरले अनुसन्धान गरेको थियो।आज शुक्रबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बयान हुनसक्ने बताइएको छ।