पूर्वसभामुख महराविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता, ५ वर्षको सजाय माग

0
Shares

 

काठमाडौँ । जिल्ला अदालतमा तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले आज महराविरुद्ध करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो ।

काठमाडौँ अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार महराविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता भएको हो । उक्त उपदफामा कसुर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।

निवर्तमान सभामुख महरालाई पछिल्लो पटक यही कात्तिक ७ गते थप अुनसन्धानका लागि सात दिनको म्याद थप गरिएको थियो । जुन आज सकिएको थियो । अदालतमा बहस भएपछि महरालाई कारागार पठाउने वा धरौटीमा रिहा हुने भन्ने फैसला हुनेछ । उनीमाथि लगाइएको अभियोगमाथि महरा पक्षका वकिलहरुले बहस गर्नेछन् ।

दफा २१९ अनुसार जबर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरेर सजाय हुने व्यवस्था छ ।दफा २१९ को उपदफा (ङ)ले अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म कैद हुने व्यवस्था गरेको छ ।

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा मुद्धा दर्ता भएकाले त्यसको आधा सजाय हुने व्यवस्था मुलुकी अपराध संहितामा छ । तर सरकारी तथा सार्वजनिक पदमा रहेकाले डेढी सजाय हुने मागदाबी परेकाले महरालाई कम्तीमा ५ वर्षको सजाय माग दाबी गरेर मुद्दा दायर भएको छ ।

बिहीबार ढिला गरी मुद्दा दर्ता भएकाले थुनछेक बहस बिहीबार नै हुन नसकेको र शुक्रबारका लागि बोलाइएको छ   । अदालतमा अब शुक्रबार महरामाथि लगाइएको अभियोगमा थुनछेक बहस हुनेछ ।