गाउँमा निशुल्क तेक्वान्दो प्रशिक्षण


दुर्गाप्रसाद शर्मा, पर्वत ।

पर्वतको एउटा दुर्गम गाउँका बालबालिकाका लागि निशुल्क रुपमा तेक्वान्दो खेलको प्रशिक्षण दिन थालिएको छ ।

पर्वतको सुदुर दक्षिणमा पर्ने बिहादी गाउँपालिका–५ गेप्ताङ्ग गाउँमा स्थानिय युवाले बालबलिकाहरुलाई निशुल्क तेक्वान्दोको प्रशिक्षण चलाएका हुन् ।
बैदेशिक रोजगारीबाट फर्केका चित्रबहादुर थापा र पोखरामा स्नातक तह अध्ययन गर्दै आएका संगम थापाले बालबालिकालाई अनुशासित बनाउने र खेलकुदमा अगाडी बढाउन निशुल्क प्रशिक्षण दिदैँ आउनुभएको छ ।

गेप्ताङ्ग तेक्वान्दो डोजाङ्ग गठन गरेर प्रशिक्षण सञ्चालन भैरहेको छ । तेक्वान्दो खेलप्रति खासै आकर्षण नभएका देखि नाम पनि नसुनेका बालबालिकालाई शुरुमा खेल सिकाउन कठिनाई भएको थियो । पछिल्लो समय अभिभावक पनि सकारात्मक भएपनि सिंगो गाउँका ५ देखि १९ बर्ष सम्मका अधिकाँश बालबालिकाहरु नियमित प्रशिक्षणमा आउन थालेको चित्र थापा बताउनुहुन्छ । अहिले २५ जना नियमित प्रशिक्षणमा आउने गरेको प्रशिक्षक चित्र थापा बताउनुहुन्छ ।

स्थानिय लक्ष्मी आधारभूत बिद्यालय गेप्ताङ्ग र चन्द्र माबि उरामपोखरामा पढ्ने विद्यार्थीहरु प्रशिक्षणमा सहभागी भएका छन् । पोखरामा अध्ययन गर्दै आउनुभएका संगम थापा स्कुले जीवनमै कुस्माको नमुना आवासिय माबिमा नै तेक्वान्दोको राम्रो खेलाडी बन्नुभएको थियो । अहिले गाउँमा आएर नियमित रुपमा प्रशिक्षण दिन पाउँदा आफुँलाई पनि गर्व महसुस भएको बताउनुहुन्छ ।

नियमित तेक्वान्दो प्रशिक्षण लिएपछि विद्यार्थीहरु अनुशासित बन्दै गएको लक्ष्मी आधारभूत विद्यालयका शिक्षक शेरबहादुर थापाले बताउनुभयो । बिद्यार्थीहरुले पर्वत स्टार तेक्वान्दो प्रतियोगिता र जिल्ला खेलकुद बिकास समितिले सञ्चालन गरेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा पनि सहभागी भैसकेका छन । अब जिल्ला र छिमेकी जिल्लाका प्रतियोगितामा सहभागी गराएर पदक जिताउने लक्ष्य रहेको प्रशिक्षक संगम थापाले बताउनुभयो ।

पर्वतको अति दुर्गम गाउँ बिहादीको गेप्ताङ्गमा तेक्वान्दो खेलका नमुना अभ्यास प्रर्दशन गर्दै खेलाडी र पाहुनाको स्वागत गर्दै । तस्वीरः दुर्गाप्रसाद शर्मा