८ लाख सहित ५८ जुवाडे पक्राउ


न्युज अफ नेपाल, विराटनगर ।
प्रदेश प्रहरी कार्यालय विराटनगरले ठूला अपराधको घटना नघटी यस बर्षको दिपावली सम्पन्न भएको दावी गरेको छ । चाडपर्वका अवसरमा हुने जुवातास, झै–झगडा, चोरी लुटपाट जस्ता सामाजिक अपराधहरुमा अघिल्लो बर्षको तुलनामा यो बर्ष निकै कमी आएको छ ।

सुनसरीको धरान एरियामा घरेलु हात हतियारहरु देखाई धाक धम्की दिई लुटपाट गर्न खोज्ने वा ज्यान मार्ने धम्की समेत दिने ५ जनालाई हतियार सहित पक्राउ गरिएको छ । त्यस्तै ठूलो रकमको बाजी राखी जुवातास खेल्ने र खेलाउने ५८ जना जुवाडेलाई नियन्त्रणमा लिइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका सूचना समन्वय अधिकृत एवम प्रहरी प्रवक्ता,प्रहरी बरिष्ठ उपरीक्षक शेखर कोइरालाले बताए ।

जुवा खालबाट ३० बुक तास, १६ थान कौडा र नगद ८ लाख ४३ हजार ५ सय ८२ रुपैया समेत फेला पारी बरामद गरिएको थियो । यस्तै दिपावली भरिमा १ लाख १८ हजार बराबरको पटका र पटका ओसार पसारमा संग्लग्न २ जनालाई नियन्त्रणमा लिईएको छ । यस बर्षको दिपावली अवधिभर १ नम्बर प्रदेशमा ४१ वटा दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ ।

७ माईक्रो १,कार जिप १ , ट्याक्टर १, ट्याम्पो ३, मोटरसाईकल २६ र साईकल २ वटा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सो दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन भने ५३ जना घाईते भएका छन् । यसैगरी दिपावली भरिमा प्रदेशका बिभिन्न स्थानहरुमा ११ जनाले झुण्डिएर र ३ जनाले बिषादी सेवन गरेर आत्महत्या गरेका छन् भने झुण्डिएर आत्महत्या गर्ने क्रममा २ जना र बिषादी सेवनबाट १४ जना घाईते भएका छन । यस्तै बिभिन्न स्थानहरुबाट लडेर ४ जनाको मृत्यु भएको छ ।

मादक पदार्थ सेवन गरी कुटपिट तथा झै झगडा हुँदा १ जनाको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् । दिपावली गर्ने क्रममा ५ घरमा आगलागी हुदा ४२ लाख बराबरको क्षति भएको छ । यस्तै बिद्युत सर्ट भएर १० घरमा आगलागी भएको र अन्दाजी १ करोड ४५ लाख बराबरको क्षति भएको छ । आगलागीमा परी २ जनाको मृत्यु र ३ जना घाईते भएका छन् ।

अत्याधिक मादक पदार्थ सेवनका कारण १ जनाको मृत्यु भएको छ । यसै गरी पानीमा डुबेर १ जनाको बालकको मृत्यु भएको छ । दिपावालीकै समयमा मादक पदार्थ सेवन गरी एक आपसमा झै झगडा भई खुकुरी हानाहान हुँदा ४ जना घाईते भएका छन । यस्तै ४ वटा जबरजस्ती करणीका घटना भएको छ भने नदीले बगाउदा १ जना बेपत्ता भएका छन् ।