पहिलो पटक खोपासी – ताल्ढुङ्गा बस चल्यो

56
Shares

मोतीराम तिमल्सिना,काभ्रे।

जिल्लाको विकट गाउँपालिका खानीखोलामा पहिलो पटक जिल्लाकै सिमाना भित्रको सडक हुँदै बस पुगेको छ । बस सेवा शुरु भएसँगै बर्षाै देखि यातायातबाट बञ्चित हुनु परेका स्थानीयहरुमा खुशी छाएको छ । २०५४ सालमा स्थानीय निकाय रहँदा जिल्ला विकास समिति मार्फत खोपासी ताल्ढुङ्गा सडक निर्माण कार्य शुरु भएको थियो । तत्कालिन समयमा हाल खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलाल जिल्ला विकास समितिका सदस्य हुनुुहुन्थ्यो ।

त्यस अघि उहाँ गाउँ विकास समिति हुँदै पार्टी राजनीतिमा कृयाशिल हुनुहुुन्थ्यो । उहाँको पहल र तत्कालिन जिल्ला विकास समितिको नेतृत्वले खोपासी ताल्ढुंगा सडकको आवश्यकता महसुस गरी निर्माण कार्य अगाडी बढाएको थियो । खोपासी देखि ताल्ढुंङ्गा सम्मको ५८ किलोमिटर सडक निर्माणका लागि झण्डै २० वर्ष लागेको थियो ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएको १ वर्ष पछि मात्रै उक्त सडक निर्माण कार्यले अन्तिम रुप पाएको थियो । सडकका विभिन्न स्थानमा रहेको चट्टानी भिर फुटाउन नसक्दा सडक निर्माण कार्य अलपत्र परेको थियो ।

‘६० करोड भन्दा धेरै खर्च भएको उक्त सडकमा बस सेवा शुरु भएको छ’–गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले भन्नुभयो–‘युगौ देखिको बस चढ्ने डाँडापारी क्षेत्रका नागरिकको सपना पुरा भएको छ ।’ बस सेवा शुरु भए लगत्तै स्थानीय सरकारको पहलमा सडक स्तरोन्नती कार्य शुरु भएको छ । प्रदेश र संघ सरकारले पनि उक्त सडक निर्माणका लागि थप रकम विनियोजन गरेका छन् । पहिलो चरणमा खोपासी ताल्ढुङ्गा हुँदै सिक्रे दोभानसम्मको ६७ किलोमिटर क्षेत्रमा बस संचालन हुनेछ ।

स्थानीय सरकार, बस ब्यवसायी र ट्राफिक प्रहरी समेतको उपस्थितीमा भाडा दर कायम गरिने अध्यक्ष खुलालले बताउनु भयो । विहानको समयमा ताल्ढुङ्गा र खोपासीबाट एकै पटक छुट्ने गरी समय तालिका मिलाईएको अध्यक्ष खुलालले बताउनु भयो । यो सडक संचालनमा आउनु अघि ललितपुर हुँदै हिउँदको समयमा गत वर्ष देखि बस सेवा शुरु भएको थियो । संविधान सभा सदस्य रामहरी सुवेदीको पहलमा ललितपुरका विभिन्न गाउँपालिका हुँदै ताल्ढुंगामा बस सेवा शुरु गरिएको थियो ।
उता महाभारत गाउँपालिकामा पनि बस सेवा शुरु भएको छ । जिल्लाका सबै पालिकाहरु सडक सञ्जालमा जोडिएका छन् ।

सडक र विद्युत्त सेवाबाट बञ्चित जिल्लाका दुई पालिका क्रमशः विकासोन्मुख भएका छन् । काभ्रेको कर्णाली भनेर चिनिने डाँडापारी क्षेत्रको बनेपा देखी गोकुलेको धापसम्म सोमबारबाट काभ्रे बस प्रालिका ३ वटा बस सन्चालनमा आएको छ । बस सेवाको उद्घाटन महाभारत गाँउपालिका प्रमुख कान्छालाल जिम्बाले र काभ्रे बस प्रा.लिका निर्देशक बर्ण शाक्यले सयुक्त रुपमा गर्नु भएको थियो ।

जिल्लाको विकट मानिने महाभारत गाउँपालिका तत्कालिन बुढाखानी, फोक्सिङ्गटार, बनखु, घर्तिछाप र गोकुले गा.बि.स का स्थानीयलाई यातायातको सेवा प्रदान गर्ने उदेश्यले सञ्चालन गरिएको महाभारत गाँउपालिकाका प्रमुख कान्छालाल जिम्बाले बताउनु भयो । डाँडापारी भेगका जनतालाई सदरमुकामसम्म पुग्न पहिले जस्तो धेरै समय नलाग्ने साथै भाडादर पनि रामपुर हुदैं जाँदा प्रति व्यति ७७० लाग्नेमा अब धापबाट महादेबटार हुदै बनेपा सम्म प्रति व्यक्ति ५८० मात्र लाग्ने अध्यक्ष जिम्बाले बताउनुभयो ।

कार्यक्रममा काभ्रे बस प्रालिका निर्देशक वर्ण शाक्यले जेष्ठ नागरिक, अशक्तलाई निशुल्क सेवा प्रदान गर्ने घोषणा गर्नु भयो । काभ्रे बसले जिल्लाको ग्रामिण भेगमा बस सञ्चालन गरी जनतालाई सेवा सुविधा दिदै आएकाले थप ग्रामिण भेगका जनतालाई सेवा दिदै जाने प्रतिवद्धता ब्यक्त गर्नु भयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चेतकुमारी माझी, जनप्रतिनिधी, काभ्रे बस प्रालिका सञ्चालक स्थानीयको सहभागिता रहेको थियो ।

सोहि अवसरमा गाउँपालिका र काभ्रे बस प्रालि बीच भाडा सम्बन्धि सम्झौता भएको छ । सम्भौता अनुसार बनेपाबाट गाँउपालिका सम्मको भाडा दर ४ सय ५० कायम गरिएको छ । त्यसै गरी बनेपा बाट घर्तिछाप ५ सय, गोकुले ५ सय ५०, धाप मैनडाँडा ५ सय ८० कायम गरिएको छ । उक्त भाडादर यस अघि सिन्धुलीको रामपुर हुँदै जाने भन्दा धेरै कम हो । त्यसले पनि स्थानीयलाई सहज भएको छ । दुरीका हिसावले पनि केहि कम भएको अध्यक्ष जिम्बाले बताउनु भयो ।