विराटनगरस्थित आईसीपीको निमार्ण पूरा,हस्तान्तरणको पखाई

0
Shares

रोशनी भट्टराई,विराटनगर ।

प्रदेश १ को राजधानी विराटनगरस्थित नेपाल भारत सीमा क्षेत्रमा निमार्णाधीन एकीकृत भन्सार जाँच चौकी(आईसीपी) को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भारततर्फको संरचना तयार भई संचालनमा आईसकेको लामो समयपछि नेपालतर्फको संरचना निमार्ण सम्पन्न भएको हो । भन्सार चौकीमा कार्गो भवन, यात्रु टर्मिनल भवन, मुद्रा सटही सुविधा, इन्टरनेट, वेयरहाउस, कोल्ड स्टोरेज, क्वारेन्टाइन, क्लियरिङ एजेन्ट, सिसिटिभी, पार्किङ, रेस्टुरेन्ट, बैंक र अन्य सार्वजनिक सुविधाको व्यवस्था गरिएको छ ।

इलेक्ट्रिक सब स्टेशन, वे ब्रिजलगायत सुविधा उपलब्ध छन् । नेपाल–भारतबीच सन् २००९ मा सीमा नाकामा दुरुस्तै प्रकृतिको भौतिक पूर्वाधारसहितको भन्सार चौकी निर्माण गर्ने सहमति भएको हो । विराटनगर, वीरगञ्ज, नेपालगञ्ज र भैरहवामा पनि चौकी निर्माण भएका छन् । आईसीपीको भौतिक संरचना निर्माण गर्ने दायित्व भारतको हुने सम्झौता थियो । सोहीअनुरुप विराटनगरमा नेपालतर्फको जाँच चौकी संरचनाका लागि भारतीय पक्षले १ अर्ब ३१ करोडको लागत लाग्ने अनुमान गरेको थियो ।

विराटनगर महानगरपालिका वडा नम्बर १८ बुधनगरमा अवस्थित आईसीपीको काम लगभग पूरा भएको छ । गत फागुन १६ गते नै निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । तर, काम पूरा नभएपछि भन्सार जाँच चौकी निर्माणको म्याद दुई पटक थपियो । निर्माणको काम अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ । संयुक्त रूपमा नेपाल/भारत दुर्वतर्फ बन्ने सो भन्सार नेपालतर्फ ८ सय ५० मिटर लम्बाइ र ५ सय मिटर चौडाइको हुनेछ । आइसीपी निर्माण गर्न १२९ बिघा र लिंक रोडका लागि ४० बिघा छुट्याइएको छ ।

यसमध्ये ४० विघामा ४३२० मिटर लामो चार लेनको कालोपत्रे सडक निर्माणको काम सुरु भएको छ । लिङ्करोडलाई व्यापारिक मार्ग रानीदेखि धरानसम्मको ४९ किलोमिटरको उत्तर/दक्षिणी राजमार्गसँग जोडिनेछ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय मोरङले गत २९ मंसिरमै नेपालतर्फ निर्माण हुने आइसीपीका लागि आवश्यक जग्गा भारतीय पक्षलाई हस्तान्तरण गरेको थियो ।

आइसीपी निर्माणका लागि भारत सरकारबाट ठेक्का पाएको दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकम अहमदावादले आइसीपीको निर्माणको काम गरिरहेको छ । दिनेशचन्द्र आर. अग्रवाल इन्फ्राकल प्रा. लिका परियोजना प्रबन्धक अवधेशकुमार साहले काममा अब विलम्ब नहुने बरु निर्माण लगत्तै हस्तान्तरण हुने चरणमा पुगेको जानकारी दिए ।

भारत सरकारको सहयोगमा निर्माण भएको एकीकृत भन्सार जाँच चौकी हस्तान्तरणको तयारी भइरहेको छ । नेपाल सरकारले वि.स. २०७३ मंसिर २९ गते जग्गा भारत सरकारलाई हस्तान्तरण गरेको थियो ।

त्यसपछि चौकी निर्माण शुरू भएको हो । एक सय २२ बिघा क्षेत्रफलमा बनेको जाँच चौकीको निर्माण कार्य सम्पन्न भई सरसफाई र एउटा गोदामको छानो छाउने काम भइरहेको छ । निर्माण कम्पनीले निर्माण लगत्तै भारत सरकारलाई बुझाएपछि भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ ।

भन्सार जाँच चौकी निर्माण सम्पन्न भएकाले अब करिब दुई महिनामा सञ्चालनमा आउने विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीले बताएका छन् । भन्सार जाँचचौकी सञ्चालनमा आएपछि भारत र तेस्रो मुलुकको आयात निर्यात सहज, सरल र व्यवस्थित हुने अधिकारीले बताए ।

एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि वस्तुको लागत मुल्य कम हुने भएकाले उपभोक्ता समेत लाभान्वित हुनेछन् । निर्माण सम्पन्न भइसकेकाले भन्सार जाँच चौकी हस्तान्तरण र भन्सार कार्यालय व्यवस्थापन गरी सञ्चालनमा ल्याउन नेपाल सरकारले तत्काल पहलकदमी शुरू गर्नुपर्ने यसक्षेत्रका उद्योगी व्यवसायीको माग छ ।