रामलीला ज्ञान महोत्सवबाट चार लाख संकलन



बैतडी, (नेस) ।

बैतडीको दोगडाकेदारमा सम्पन्न रामलीला ज्ञान महोत्सववाट ४ लाख बढी रकम संकलन भएको छ। रामलीला ज्ञान महोत्सवका संयोजक दानबहादुर कार्कीकाअनुसार कुल ४ लाख ३९ हजार संकलन भएको हो।महोत्सवको समापन बैतडीवाट निर्वाचित प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले गर्नुभएको हो।

संकलित रकममा दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह ऐरले सबैभन्दा बढी ३५ हजार ५ सय ५५ रुपियाँ दिनुभएको छ। दोगडाकेदार रामलीला समितिको आयोजनामा सम्पन्न भएको महोत्सवमा संकलित रकमवाट दोगडाकेदार–३ श्रीकोटमा रामलीला मैदान निर्माण गरिने भएको छ।

यसअघि गतवर्ष सञ्चालन गरिएको रामलीला महोत्सवमा १० लाख रुपियाँ संकलन भएको थियो। गतवर्ष संकलित रकमले रामलीला मैदान निर्माण अधुरै रहेकोले यो वर्ष पनि रामलीला महोत्सवको आयोजना गरिएको जनाएको छ। गएको असोज २२ गतेदेखि शुरू भएको उक्त रामलीला ज्ञान महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले गर्नुभएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्