कारागार बन्न सकेन सुधारगृह २० जना बस्ने कारागारमा ७३ जना



नेपाल समाचारपत्र, प्यूठान।

प्यूठान कारागारका कैदीको अवस्था दयनीय छ। यहाँ रहेका कैदीबन्दीले सजिलोसँग बस्न, सुत्न र खान नपाएकाले उनीहरूको अवस्था दयनीय भएको हो। सरकारले कारागारलाई सुधारगृहका रूपमा विकास गर्ने योजना बनाए पनि कार्यान्वयन नहुँदा उनीहरूले सास्ती पाएका हुन्।कारागारको क्षमता विस्तार नगरिँदा त्यहाँ रहेका कैदीबन्दीलाई खान, बस्न र सुत्न निकै समस्या छ। भौतिक अवस्था, सुरक्षा र सुबिधाका हिसाबले कारागारको अवस्था टिठलाग्दो देखिन्छ।

भौतिक पूर्वाधारको अभावमा कैदीबन्दीहरू कोचिएर बस्न बाध्य छन्। कारागारमा बढेको कैदीको चापले खान, बस्न, सुत्न र उनीहरूको दैनिकीमा धेरै समस्या भएको गुनासो कैदी एवं थुनुवाले गुनासो पोखेका छन्।

पर्खालका भित्ता चर्किएका छन्। शौचालयबाट निस्कने ग्याँस बाहिर जाने ठाउँ छैन। कारागार सुरक्षा प्रशासन, भोजनालय, शौचालय, उनीहरूले बुन्ने मुढालगायतका सामग्रीसमेत सोही स्थानमा छन्। खाना पकाएर खाने ठाउँ र शौचालय एकै ठाउँमा जोडिएकोले मन फुकाएर खाने स्थिति पनि छैन। जेल नै सांघुरो ठाउँमा रहेकाले खेल्ने मैदान, मैदान जस्तो छैन।

‘जेल सुधार गृह होइन, यातनागृहजस्तो लाग्छ। गर्मीमा अति नै गर्मी, चिसोयाममा घाम ताप्ने त के घामको मुखसमेत देख्न पाइँदैन’, कारागारका कैदिबन्दीहरू गुनासो गर्छन्। उता जिल्ला कारागारका जेलर सूर्य पन्त भने कारागारको अबस्था पहिलेभन्दा सुध्रिएको दाबी गर्नुहुन्छ।

कारगारलाई यातनागृह भन्दा पनि सुधारगृहका रूपमा विकास गर्न तत्काल पहल थालिनुपर्ने सरोकारवाला बताउँछन्। यसअघि विभिन्न समितिले पटक–पटक कारागारको स्थलगत अध्ययन गरी सुधारका लागि पहल गर्न सरकारलाई सुझाब दिए पनि अहिलेसम्म कतैबाट यसको सुधारका लागि पहल नथालिएको अनुभव सरोकारावाला व्यक्त गर्दछन्।

क्षमताभन्दा तब्बर कैदीबन्दी


कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदिबन्दी छन्। २० जना कैदी राख्न मिल्ने क्षमताको जिल्ला कारागारमा अहिले १० महिला र ६३ जना पुरुष गरी ७३ जना कैदी राखिएका छन्। तर त्यसअनुसारको सुबिधा छैन। कैदीबन्दीको संख्या बढ्दै गए पनि कारागार व्यवस्थापन भने भद्रगोल छ।

कारागार भवन साँघुरो हुँदा यहाँका बन्दी कोचाकोच गरी बस्न बाध्य छन्। राणाकालमा घोडा राख्ने तवेलालाई कारागारको रूपमा प्रयोगमा ल्याइए पनि अहिलेसम्म आवश्यक सुधार हुन सकेको छैन। भौतिक पूर्वाधारको अभावमा कैदीबन्दीहरू कोचिएर बस्न बाध्य छन्।

कारागारमा बढेको कैदीको चापले खान, बस्न, सुत्न र उनीहरूको दैनिकीमा धेरै समस्या भएको गुनासो कैदी एवं थुनुवाले गुनासो पोखेका छन्। क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण सुत्न र बस्न समस्या हुने गरेको कारागारका प्रहरी हबल्दार खिलबहादुर डाँगीले बताउनुभयो। उनीहरूको व्यवस्थापन हुन नसक्दा कैदीबन्दीलाई बस्न समस्या छ।

‘सुत्ने बस्ने समस्या भयो भन्दै कैदीहरूले गुनासो गर्छन्’, हबल्दार डाँगी कैदीबन्दीलाई उद्धृत गर्दै भन्नुहुन्छ, ‘भवन जीर्ण छ, कैदीबन्दीको संख्या बढेको बढ्यै भयो, जीर्ण भवनमा कैदी थपिँदै जानुले कारागार व्यवस्थापनमा चुनौती थपिँदै गएको छ। सरोकारवाला निकायहरू देखेर पनि नदेखे झैं गर्छन्।’

बजेट आयो, जग्गा छैन

यसैबीच कारागारको नयाँ भवन निमार्ण हुने भएको छ। कैदीबन्दीको समस्यालाई ध्यानमा राख्दै कारागारको अवस्था बारे पटक पटक माग गरेर पठाएपछि नयाँ भवनको लागि बजेटसमेत परेको छ।

प्रदेश नं. ५ सरकारले भवन निर्माणका लागि यो वर्ष एक करोड बजेट विनियोजन गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो। कारागारका जेलर पन्थले गत वर्ष ३५ लाख रुपियाँको लागतमा दुई कोठे भवन बनाएको जानकारी दिनुभयो। प्रदेश सरकारले रकम विनियोजन गरे पनि जग्गा नहुँदा भवन निर्माण नै अन्योलमा परेको पन्तले सुनाउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्