स्काभेटरले किच्दा यात्रुको मृत्यु



बैतडी, (नेस)।

स्काभेटरले किच्दा बैतडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका–५ पेलेका ५५ वर्षीय शुक्रसिंह पुजारा रहेका छन्।मेलौलीको लामालेक–ढणौन सडकखण्डको पेलेमा स्काभेटरमा सवार रहेका पुजारा एक्कासि खसेर उनलाई आफै चढेको स्काभेटरले किचेको प्रहरीले जनाएको छ।

लामालेक–ढणौन सडक निर्माणमा प्रयोग भएको एसके २२० केडी नम्बरको स्काभेटरलाई घर निर्माणको लागि माटो खन्ने प्रयोजनका लागि ल्याउँदै गरेको अवस्थामा बिहीबार बिहान ८ बजे पेले भन्ने स्थानमा पुजारा खसेको इलाका प्रहरी कार्यालय मेलौलीका प्रहरी नायव निरीक्षक मानसिंह बोहराले जानकारी दिनुभयो।

स्काभेटर चालक दशरथचन्द नगरपालिका–२ देहिमाडौंका ३० वर्षीय शेरीसिंह बोहरा फरार रहेका छन्। फरार चालक खोजी भइहरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। शव क्षतविक्षत अवस्थामा घटनास्थलमै रहेको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच बैतडीकै महाकाली राजमार्गमा भएको ट्रक दुर्घटनाका मृतकको पहिचान खुलेको छ। मृत्यु हुनेमा ट्रकका चालक दार्चुलाको नौगाड गाउँपालिका सिप्टीका धनसिंह धामी रहेको बैतडी प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभएको छ।

ट्रकमा चालक मात्रै रहेको बुझिएको छ। धनगढीबाट दार्चुलातर्फ गइरहेको ग्याँस बोकेको से१ख १९२३ नम्बरको मिनी ट्रक महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा हिजो बिहान २ बजे दुर्घटनामा परेको हो। ट्रक सडकबाट २ सय मिटर तल खसेको छ। चालक निदाएको वा ब्रेक फेल भएर ट्रक दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्