नर्भिक र माहिडोल विश्वविद्यालयबीच सम्झौता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसन र थाइल्यान्डको माहिडोल विश्वविद्यालयबीच रणनीतिक साझेदारी तथा प्राज्ञिक सहयोग आदान–प्रदानसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।

अन्तर्राष्ट्रिय अवसरलाई विस्तार तथा सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउँदै विद्यार्थी तथा संकायबीच सहयोग आदान–प्रदान गर्ने उद्देश्यले नेपालको समझदारीपत्रमा नर्भिक इन्स्टिच्युटका तर्फबाट कार्यकारी निर्देशक पारस शाक्य र माहिडोल विश्वविद्यालयका तर्फबाट त्यहाँका प्रेसिडेन्ट वाञ्चों माहासायारियाले थाइल्यान्डमा बुधबार हस्ताक्षर गर्नुभएको नर्भिक अस्पतालले जनाएको छ।

दुई संस्थाबीच भाइचाराको सम्बन्ध अभिवृद्धि गर्ने, पाठ्यक्रम विकास, अनुसन्धानलगायत अन्य शैक्षिक गतिविधिमा सहयोग आदान–प्रदान गर्ने, शैक्षिक ज्ञान तथा स्रोत साधन आदान–प्रदान गर्ने, आपसी सहकार्यमा शैक्षिक कार्यक्रमको विकास गर्ने, आपसी सहकार्यमा कार्यशाला गोष्ठी, सेमिनार, सभासम्मेलनको आयोजना गर्ने तथा थप सहकार्यका अन्य सम्भावनाको खोजी गर्ने समझदारीपत्रमा उल्लेख छ।

सम्झौता सहकार्यका क्षेत्रहरूको खोजी गरी छलफल र आपसी समन्वयका माध्यमबाट अघि बढ्न प्रेरित गर्ने उद्देश्यका निमित्त पर्याप्त रहेको उल्लेख गरिएको छ। उपरोक्त समझदारी आगामी ५ वर्षसम्म कायम रहने, समझदारी पत्रमा उल्लेखित बुँदाहरू आपसी सहमतिमा कार्यान्वयन गर्दै लगिनेसमेत जनाइएको छ।