डेंगुका कारण एकको मृत्यु

0
Shares

काठमाडौं, (नेस)।

डेंगुका कारण चितवन मेडिकल कलेजमा उपचार गर्दागर्दै एक महिलाको मृत्यु भएको छ।डेंगुको महामारीको स्थितिमा कमी आएको भए पनि शून्यता भने आइनसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ज्वरो आएर चितवन मेडिकल कलेजमा केही दिनदेखि उपचार गराइरहेकी ३१ वर्षीया एक महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनले पनि लमजुङ दूधपोखरी–२ विचौर स्थायी घर भई नवलपुरको गैंडाकोट निवासी सरस्वती न्यौपानेको कात्तिक ४ गते बिहान उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेको छ।

चितवनमा यसअघि पनि एक जनाको डेंगु र स्क्रबटाइफसबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। हालसम्म चितवन जिल्लामा मात्र ज्वरो आएका १३ हजार ८ सय ७७ जनाको डेंगु परीक्षण गर्दा ४ हजार २ सय ८० जनामा डेंगुको संक्रमण प्रमाणित भइसकेको छ।

वैशाख महिनादेखि नेपालमा डेंगुको संक्रमण फैलिई असोजको तेस्रो सातासम्म महामारीकै रूपमा देखापरेको र पछिल्लो दुई सातादेखि वातावरण चिसो हुँदै गएका कारण कमी आए पनि शून्यमा भने नपुगेको चितवन जिल्ला प्रशासन कार्यालयका अधिकारी बताउँछन्।

गर्मी ठाउँमा जाडोयाममा पनि दिन तातेको बेला डेंगु संक्रमित लामखुट्टे सक्रिय हुन सक्ने सम्भावना टरेको छैन। घरवरिपरि सफा राख्ने, पानी जम्न नदिने, पुरा बाहुला भएको खुकुलो कपडा लगाउने र ज्वरो आएमा नजिकैको स्वास्थ्य केन्द्रमा परीक्षण गरी बढी मात्रामा झोल पदार्थ खाने र आराम नै यसको न्यूनीकरणको आधार भएको चिकित्सकहरू बताउँछन्।