त्रिविका अधिकारीको कार्यकक्षमा ताला

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका अधिकारीहरूको कार्यकक्षमा तालाबन्दी गरेका छन्। उनीहरूले अनुचित ढंगले जनप्रशासन केन्द्रीय विभागको विभागीय प्रमुख नियुक्ति गरेको आरोपमा तालाबन्दी गरेका हुन्।

युनियन र संघको जनप्रशासन एकाइका प्रतिनिधिले जनप्रशासन विभागका प्रमुखको कार्यकक्षसहित त्रिविको रजिस्ट्रार, उपकुलपति र रेक्टरको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।
वरिष्ठतम प्राध्यापकलाई विभागीय प्रमुख नियुक्ति गर्नुपर्ने, एउटै व्यक्ति दुईवटा संस्थाको प्रमुख राख्न नहुने र विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने मागसहित तालाबन्दी गरिएको संघका एकाइ अध्यक्ष सुदीप श्रेष्ठले बताउनुभयो।

माग पूरा नभए थप आन्दोलनका कार्यक्रम अगाडि बढाइने श्रेष्ठले बताउनुभयो।विगतमा प्राध्यापकलाई नै विभागीय प्रमुख बनाउने प्रचलनलाई तोडेर उपप्राध्यापकलाई निमित्त प्रमुख बनाइएको भन्दै संघको जनप्रशासन क्याम्पस एकाइ आन्दोलित भएको हो।

त्रिविले निमित्त प्रमुख प्राध्यापक यशोधा काफ्लेको तीनमहिने कार्यकाल सकिएपछि उपप्राध्यापक हरिभक्त शाहीलाई निमित्त प्रमुख नियुक्त गरेको छ। यो नियुक्तिसँगै विद्यार्थीहरू आन्दोलित भएका हुन्।

तालाबन्दीमा स्वतन्त्र विद्यार्थी युनियनका तर्फबाट तारताम थापाको टोली पनि संलग्न छ। प्राध्यापकहरू पनि नियुक्तिप्रति असन्तुष्ट रहेको बताइएको छ। त्रिविमा केही दिनअघि गरिएको नयाँ पदाधिकारी नियुक्ति गलत मनसायबाट भएको भन्दै आक्रोशित पोखिरहेको एक प्राध्यापकले बताए।