महराको डीएनए परीक्षण गर्न आदेश, सात दिन म्याद थप

0
Shares

काठमाडौं, (नेस)।

काठमाडौं जिल्ला अदालतले यौन हिंसाको अभियोगमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले बिहीबार म्याद थपसहित महराको रगत निकाली डीएनए परीक्षण गर्नसमेत आदेश दिएको उक्त अदालतको उच्च स्रोतले जानकारी दिएको छ।

जबरजस्ती करणी कसुरमा अनुसन्धान सहज पार्न यसअघि नै डीएनए परीक्षणका लागि प्रहरीले रगत लिन खोजे पनि महराले दिन आनकानी गरिरहनुभएको स्रोतको दाबी छ।
यस्तो आदेशले थप अनुसन्धानका लागि प्रहरीलाई बाटो खुला भएको छ।

संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि महराबाट यौन दुव्र्यवहारको प्रयास भएको आरोप लगाई जाहेरी दिएपछि प्रहरीले महरालाई असोज १९ गते पक्राउ गरेको थियो।
महरालाई यसअघि पहिलोपटक १३ दिन र त्यसपछि ५ दिन म्याद थपको अनुमति दिएको थियो।

तर, प्रहरीले अनुसन्धान नसकिएको भन्दै अदालतसमक्ष फेरि म्याद थपको माग गरेको थियो।दुवैपटकको म्याद थपका लागि आफ्नो निजी सवारी प्रयोग गर्नुभएको महरा बिहीबार भने प्रहरीको भ्यान नै प्रयोग गरी सरकारी वकिलको कार्यालय र अदालतसम्म उपस्थित हुनुभएको थियो।