चितवन राइनोजलाई उपाधि

0
Shares

काठमाडौं, (नेस)।

नेपाली क्रिकेट इतिहासमा पहिलो पटक आयोजित फ्रेन्चाइज महिला च्याम्पियनसीप टी–२० प्रतियोगिताको उपाधि चितवन राइनोजले जितेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा चितवनले क्याट क्विन्स काठमाडौंलाई ४५ रनले हराउँदै उपाधिको रक्षा गरेको हो।

यो जितसँगै विजेता टोली चितवनले पहिलो पुरस्कार ७ लाख नगद प्राप्त गर्न सफल भयो।उपविजेता काठमाडौंले ३ लाखमा नै चित्त बुझाउनुपर्यो। प्रतियोगितामा क्याट क्विन्सकी कप्तान रुबिना क्षेत्री बेलबासे प्लेयर अफ द सिरिज घोषित भइन्।

उनले टीभीएस स्कुटरसँगै ५० हजार नगद प्राप्त गरेकी छिन्। उनले प्रतियोगिताभर २ अर्धशतकसहित कुल २ सय १४ रन जोडिन् भने बलिङमा ५ विकेट लिएकी थिइन्। उनले क्वालिफायर खेलमा विराटनगरविरुद्ध ४ रन दिएर ४ विकेट लिँदै उत्कृष्ट बलिङ गरेकी थिइन्।

प्रतियोगितामा ब्याट्स वोमेन र बलरतर्फ चितवनका खेलाडीले नै वर्चश्व जमाएका थिए। ओपनर काजोल श्रेष्ठ उत्कृष्ट ब्याट्स वोमेन र बलर कविता गौतम उत्कृष्ट बलर घोषित भएका थिए। उनीहरूले समान २५/२५ हजार नगद हात पारेका छन्। यसै गरी प्रतियोगितामा कुल ६ विकेट लिएकी काठमाडौंकी ईश्वरी विष्ट उदीयमान खेलाडी घोषित भइन्।

टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको नोक्सानीमा १ सय १२ रन जोडेको थियो। जसमा सुमन खतिवडाले सर्वाधिक २९ रनको योगदान दिएकी थिइन्। काठमाडौंकी सरस्वतीकुमारी, लक्ष्मी साउद र संगीता राईले १/विकेट लिएका थिए।

१ सय १३ रनको मध्यम लक्ष्य पाएको काठमाडौंले ब्याटिङ सुदृढ बनाउन नसक्दा उपाधिबाट विमुख हुनुपर्यो। टोलीले २० ओभरसम्म खेलेर पनि ६७ रन बनाउँदै अलआउट भएको थियो। कप्तान रुबिना क्षेत्री (२ रन) र रोमा थापा (०) छिट्टै आउट हुनु नै काठमाडौंका लागि दुर्भाग्य भएको थियो। चितवनकी रितु कनौजियाले ३ र रेखा रावलले २ विकेट लिएका थिए।