आक्रामक योजनामा विप्लव समूह, जिल्ला सेक्रेटरी सुन्तली पक्राउ

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विप्लव समूहका जिल्ला सेक्रेटरीसहित तीन जनालाई पक्राउ गरेको छ।बुधबार मध्यरातमा प्रहरीले गरेको अप्रेसनमा सेक्रेटरी र अन्य दुई कार्यकर्तालाई फरकफरक स्थानबाट पक्राउ गरेको हो।

जिल्लाको विकट गाउँपालिका खानीखोलाबाट केन्द्रीय नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित ८ जना नेता पक्राउ परेपछिको सबैभन्दा ठूलो नेता जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको हो।

थोकरलाई केन्द्रीय कमिटीले १५ दिनअघि मात्रै काभ्रेको सेक्रेटरीमा तोकेको थियो।लामो समय परिवारको सम्पर्कमा नरहेकी सुन्तली बुधबार बुबाआमा भेट्न अस्थायी बसोबास रहेको पनौती नगरपालिका–९ नौबीसे आएका बखत घरबाटै प्रहरीको टोलीले पक्राउ गरेको हो।एसपी जयराज सापकोटाका अनुसार प्रहरीले सुन्तली थोकरको साथबाट पार्टीका दस्तावेजहरू बरामद गरेको छ।

प्रहरीले रोशी गाउँपालिका–६ सिपाली चिलाउनेबाट रोशी गाउँपालिका–५ सिसाखानीका आसमान तामाङ र रोशी गाउँपालिका–३ शिखर आम्बोटे घर भएका अनन्त थापामगर उपनाम भएका कृष्णबहादुर मगरलाई पक्राउ गरेको छ। आसमान जिल्ला कमिटी सदस्य हुन्।

नेतृत्व हेरफेर

विप्लव समूहले जिल्लाका सबै कमिटीहरू हेरफेर गरेको छ। जिल्ला कमिटीको सेक्रेटरीमा लेखराज गजमेर ‘अग्रिम’को स्थानमा सुन्तली थोकरलाई जिम्मेवारी दिइएको छ।
जिल्ला कमिटीलाई छरितो बनाउँदै केही नेताहरूलाई हटाइएर पुराना केही नेताहरूलाई पूर्ववत् जिम्मेवारी दिइएको छ।

रमेश नेपालीसहितका नेताहरूले पुरानै जिम्मेवारी पाएका छन्। कान्छा लामा, सागर मैनालीलगायतलाई जिल्लाको जिम्मेवारीबाट हटाइएको छ।सो समूहले सबै भ्रातृ संगठनहरूमा नेतृत्व परिवर्तन गरेको छ। दलित संघमा पुनः रमेश नेपाली चयन भएका छन्।

उनले पुरानै जिम्मवारी नमोबुद्ध र धुलिखेल नगरपालिकाको इन्चार्जको समेत जिम्मेवारी प्राप्त गरेका छन्। प्रहरीले पक्राउ गरेका आसमान तामाङ जिल्ला सदस्य हुन् भने अनन्त थापामगर काभ्रेको जिम्मेवारीमा छैनन्।

को हुन् सुन्तली ?

प्रहरीद्वारा समातिएकी सुन्तली सशस्त्र युद्धका क्रममा १३ वर्षको उमेरदेखि भूमिगत भएकी थिइन्।साविक साल्मेचाकल घर भई जनविकास माविको कक्षा ७ मा अध्ययन गर्दागर्दै उनका सहपाठी साइला तामाङलाई २०५९ सालमा प्रहरीले पक्राउ गरी गोली ठोकेर मारेपछि उनी अखिल क्रान्तिकारीको राजनीतिबाट भूमिगत भइन्।

७ छोरी र २ छोरामध्ये उनी साइली छोरी थिइन्। सुन्तली भन्दाअघि उनकै ठूलोबुबाको छोरी रमिता थोकर माओवादीमा सक्रिय थिइन्। अभियानकै क्रममा उनको निधन भएको थियो।
हाल बागमती गाउँपालिकाका अध्यक्ष रहेका मधु तामाङले सुन्तलीलगायतलाई पार्टीमा प्रवेश गराएका थिए।

निरन्तर पार्टीका विभिन्न पदमा रहेर योगदान पुर्याएकी सुन्तलीले शान्ति प्रक्रियासँगै कोसीपारिको जागृति माविबाट १२ कक्षा अध्ययन सकेर हाल ब्याचलर तहको अध्ययन गरिरहेकी थिइन्।
शान्ति प्रक्रियामा जिल्ला विकास समितिको सहयोगमा महिला एकता तथा रूपान्तरण अभियानअन्तर्गत सामाजिक अभियानमा रहेर काम गरेकी थिइन्।

ताल्ढुंगमा रहेको नेपाल टेलिकमको टावर निर्माणमा उपभोेक्ता समितिमा रहेर समेत काम गरेकी थिइन्। युद्धका क्रममा ९ महिनाजति सेनामा रहेर सक्रिय भइन्।२०६९ सालसम्म उनी जिल्ला सचिवालय सदस्य हुँदै ब्युरो सदस्य, ताम्सालिङ क्षेत्र सदस्य, तामाङ मुक्ति मोर्चाको केन्द्रीय सदस्य, अनेमसंघ क्रान्तिकारीको केन्द्रीय सदस्य, ताम्सालिङ स्वायत्त प्रदेशको सदस्य थिइन्।

केही समय बिरामी भएकाले पार्टी काममा सक्रिय हुँदाहुँदै उनी जिल्लाबाहिर थिइन्। लामो समय घरबाहिर रहेकाले अस्थायी बसोबास गरिरहेको स्थान पनौती–९ नौबिसेमा बसिरहेका बुबाआमालाई भेट्न घरमा आएका बखत प्रहरीको टोलीले पक्राउ गरेको हो।उनको परिवार भूकम्पले गाउँमा घर भत्काएपछि त्यहीं बस्दै आएको छ। सुन्तली ६ वर्षदेखि विप्लव समूहमा क्रियाशील थिइन्।

आक्रामक योजना

विप्लव समूहले नयाँ नेतृत्व गठन गरेसँगै जिल्लामा गतिविधि बढाएको छ। संगठन निर्माणसँगै राज्यसत्तालाई असफल बनाउन छुट्टै जनसत्ता स्थापना गरेको छ।जनसत्तासँगै सेनाको तालिम र प्रशिक्षणका लागि युवाहरूलाई आह्वान गरेको छ।

सदस्यता वृद्धिलाई तीव्र बनाएको छ। चन्दा संकलन, भण्डाफोर अभियान, जनसंगठन परिचालनलगायतका कार्यमा क्रियाशील भएको जिल्ला सदस्य रमेश नेपालीले जानकारी दिनुभयो।राज्य सत्ताका सबै काम असफल बनाउन गतिविधि सञ्चालन गरिरहेको उहाँले बताउनुभयो।

दस्तावेज बरामद

पक्राउ परेकी जिल्ला सेक्रेटरीको घर र साथबाट प्रहरीले १७ थान पुस्तक बरामद गरेको छ।एकीकृत जनक्रान्ति, अग्निज्वाला पत्रिका, विश्व प्रसिद्ध जनक्रान्तिहरू, माओत्सेतुङका संकलित सैनिक रचनाहरू, विज्ञानका प्रमुख सिद्धान्तहरू, महान् बहस, जनक्रान्तिलगायतका छन्। पार्टीको सदस्यता फाराम, परिचयपत्र, सामान्य खालका चारवटा, प्रेस विज्ञप्ति, चन्दा संकलनको प्याड, पत्रलगायतका सामग्रीहरू बरामद गरेको छ।

प्रहरीको अप्रेसन

जिल्लाको विकट महाभारत गाउँपालिकामा विप्लव समूहले सिलिन्डर विस्फोट गराएलगत्तै जिल्ला प्रहरी कार्यालय काभ्रेले विप्लव समूह पक्राउ गर्न अप्रेसन शुरू गरेको हो। एसपी जयराज सापकोटाका अनुसार मध्यरातमा विप्लव समूहका जिल्ला सेक्रेटरी सुन्तली थोकर शंखुको इट्टेबाट पक्राउ परेकी हुन्। रोशी गाउँपालिकाको सिसाखानीबाट दुई नेता पक्राउ परेका छन्। यसअघि जिल्लाको टोलीले हेमन्तप्रकाश ओलीसहितका नेताहरूलाई पक्राउ गरेको थियो।