आलम प्रकरण : प्रहरीले लियो दुई दर्जन बढीसँग बयान, दर्जन साक्षी तयार

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

२०६४ साल चैत्र २७ गते संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजपुरराजपुर फरदवामा भएको बम बिस्फोटको मुख्य अभियुक्त मानिएका अफ्ताव आलम यतिबेला प्रहरीको नियन्त्रणमा छन् ।

१२ वर्ष पहिलेको सो घटनामा घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाएर हत्या गरिएको भन्दै आलममाथि अनुसन्धान जारी छ । चुनावको समयमा बम पड्काएर मतदाता तर्साउने र त्यसैका आडमा चुनाव जित्ने उनको योजना थियो ।

योजना बमोजिम आलमको समूहले उनकै काका शेख इद्रिसको घरमा बम बनाइरहेको थियो । बम बनाउने क्रममा दुर्घटनावश बम पड्किएको र उक्त बिस्फोटमा परी घटनास्थलमै ३ देखि ४ जनाको मृत्यु भएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताएका छन् ।

उक्त बिस्फोटमा कम्तीमा थप १ दर्जन घाइते भएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।सामान्य र जटिल गरी उक्त बिस्फोटमा करिब २० जना घाइते भएको प्रहरीको निस्कर्ष छ । बम बनाउँदै गर्दा बिस्फोट भएपछि मृतक तथा घाइतेलाई एउटा ट्याक्टरमा राखेर नजिकै रहेको आलमको भाञ्जाको इटाभट्टामा पुर्याइयो ।

अनि घाइतेहरुलाई पनि त्यही भट्टीमा हालेर जिउँदै जलाइएको आरोप छ । चैत २८ गते भएको निर्वाचनमा आलम विजयी भए । आलम विजयी भएपछि प्रहरी प्रशासन तथा स्थानीय निकायलाई पनि प्रभावमा पारी अनुसन्धान नै प्रभावित गरिएको आरोप लागेको थियो ।

बिस्फोटमा २ जना नेपालीको पनि मृत्यु भएको थियो । त्यसपछि मृतकहरु पिन्टु भन्ने त्रिलोक सिंह र ओसी अख्तरका परिवारले आलमविरुद्ध किटानी जाहेरी दिएका थिए ।

यसैबीच प्रहरीले राजपुर बम प्रकरण सम्बन्धमा २५ जनाभन्दा बढी मानिससँग बयान लिइसकेको छ । प्रहरीले बयान दिनेको नाम गोप्य राखेको छ भने उनीहरुलाई छद्म नाम प्रयोग गरिएको छ ।

उक्त घटना देख्ने राजपुरका स्थानीय, घटनामा संलग्न केही व्यक्ति, ट्याक्टरका मालिक आदिसँग बयान लिइसकेको छ । प्रहरीलाई बयान दिनेको सङ्ख्या दुई दर्जन नाघेको र उनीहरु सबै साक्षीको रुपमा रहेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताएका छन् ।

यद्यपि, प्रहरी भने आफ्नो मुद्दा शक्तिशाली बनाएर मात्रै अदालत जाने र दोषी उम्कन नसक्ने गरी साक्षी र प्रमाण संकलनमै केन्द्रित छ । त्यसकारण पनि अब तिहारअगाडि यो मुद्दा अदालत पुग्ने र थुनछेक बहस हुने सम्भावना अत्यन्तै न्युन रहेको छ ।