टोटेनह्यामद्वारा गोलको वर्षा

0
Shares

लन्डन, (एजेन्सी)।

यूईएफए च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा इंग्लिस प्रिमियर क्लब टोटेनह्याम हट्सपरले गोलको वर्षा गरेको छ।घरेलु मैदानमा टोटेनह्यामले सर्बियन क्लब रेड स्टार बेलग्रेडलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो।

टोलीको फराकिलो जितमा कप्तान ह्यारी केन र ह्युङ मिन सनले समान दुई–दुई तथा इरिक लमेलाले एक गोल गरेका थिए। टोटेनह्यामले खेलको नवौं मिनेटमा कप्तान केनको गोलमार्फत खाता खोलेको थियो।

त्यस्तै १६औं मिनेटमा सनले गोल गर्दै टोटेनह्यामकोे अग्रता दोब्बर पारे। ४४औं मिनेटमा डेम्बेलेको पासमा सनले व्यक्तिगत दोस्रो गोल गरेपछि टोली पहिलो हाफसम्म ३–० ले अघि रह्यो। ५७औं मिनेटमा लामेलाले गोल गरेपछि टोलीको पहिलो जित हुने पक्का भएको थियो। ७२औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरेका थिए।

जितसँगै टोटेनह्याम समूह ‘बी’ मा ३ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। रेडस्टार भने ३ अंकसहित तेस्रो स्थानमा छ। यही समूहको अर्काे खेलमा जर्मन क्लब बायर्न म्युनिखले ग्रिसको ओलम्पियाकोसमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्दै ९ अंकसहित शीर्ष स्थानलाई निरन्तरता दिएको छ।

बायर्नको जितमा पोल्यान्डका स्टार स्ट्राइकर रोवर्ट लेवान्डोस्कीले दुई तथा टोलिसोले एक गोल गरे। घरेलु टोलीका युसेफ अल अरबी र गुइलहेर्मेले एक–एक गोल गरे पनि हार टार्न भने पर्याप्त भएन। हार बेहोरेको ओलम्पियाकोस १ अंकका साथ पुछारमा छ।

डिबालाद्वारा युभेन्टसको उद्धार

इटालियन सिरी ‘ए’ क्लब युभेन्टसले यूईएफए च्याम्पियन्स लिगमा जित निकालेको छ। घरेलु मैदान एलिनाज एरिनामा भएको खेलमा युभेन्टसले रसियन क्लब लोकोमोटिभ मस्कोलाई २–१ ले पराजित गरेको हो। एक गोलले पछि परेको स्थितिमा पाउलो डिबालाले दुई मिनेटमा दुई गोल गरेर टोलीको उद्धार गरेका थिए।

३०औं मिनेटमा एलेक्से मिरनचुकले गोल गरेपछि पाहुना टोलीले क्रिस्टियानो रोनाल्डो सम्मिलित टोली युभेन्टसविरुद्ध अप्रत्यासितरूपमा अग्रता लिएको थियो। तर, डिबालाले ७७औं मिनेटमा जुवान कोर्डाडोको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

त्यसको दुई मिनेटपछि नै एलेक्स सान्द्रोको पासमा डिबालाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २–१ को जित दिलाए।

जितसँगै युभेन्टसले समूह ‘डी’ मा ३ खेलबाट ७ अंक जोडेर पहिलो स्थानमा उक्लिएको छ।
यही समूहको अर्काे खेलमा स्पेनिस क्लब एट्लेटिको मेड्रिडले जर्मन क्लब बायर लिभरकुसेनमाथि १–० को जित निकाल्दै महत्वपूर्ण ३ अंक जोड्यो।

युभेन्टससँगै समान ७ अंक रहे पनि एट्लेटिको मेड्रिड दोस्रो स्थानमा रहेको छ। मस्को भने ३ अंक जोडेर तेस्रो तथा बायर अंकविहीन हुँदै पुछारमा छ।

स्टर्लिङको ह्याट्रिक
त्यस्तै समूह ‘सी’ को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले इटालियन क्लब एटलान्टालाई ५–१ ले परास्त गरेको छ। खेलको ८२औं मिनेटमा दोहोरो पहेंलो कार्डको शिकार बन्दै १० जनामा सीमित सिटीको तर्फबाट रहिम स्टर्लिङले ह्याट्रिक गरेका थिए। त्यस्तै सर्जियो अग्युरोले दुई गोल गरे।

एक गोलले पछि परेको स्थितिलाई उल्ट्याउने क्रममा रहिमले ५८औं, ६४औं, ६९औं मिनेटमा लगालग तीन गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। त्यसअघि खेलको २८औं मिनेटमा मालिनोभिस्कीले गोल गर्दै एटलान्टालाई शुरूआती अग्रता दिलाए। तर, अग्युरोले ३४औं र ३८औं मिनेटमा गोल गर्दै पहिलो हाफसम्म सिटीलाई २–१ ले अघि राख्न सफल भए।

जितसँगै ३ खेलबाट शतप्रतिशत ९ अंक जोड्दै सिटी समूहको शीर्षमा छ। समान खेल खेलेको एट्लान्टा भने अंकविहीन बन्दै पुछारमा रहेको छ।यसै समूहको अर्को खेलमा साख्तर डोनेत्स्क र डिनामो जाग्रेबले २–२ को बराबरी खेल्दै समान अंक बाँडे। समूहको दोस्रो स्थानमा रहेको जाग्रेबले ३ म्याचबाट ४ अंक जोडेको छ भने समान अंक जोडेको साख्तर भने गोलभिन्नताको आधारमा चौथो स्थानमा छ।

रियलको पहिलो जित

समूह ‘ए’ को खेलमा स्पेनिस महारथी रियलले संघर्षपूर्ण जित हासिल गर्यो। टर्कीको गालातासरेलाई १–० ले हराउँदै रियल महत्वपूर्ण तीन अंक जोड्न सफल भयो।

रियलको जितमा खेलको १८औं मिनेटमा टोनि क्रुसले गरेको गोल नै निर्णायक सावित बनेको थियो। योसँगै जिनेदिन जिदानको टोलीले प्रतियोगितामा पहिलो जित हात पार्यो।

जितसँगै समूहको दोस्रो स्थान ओगटेको रियलको ३ खेलबाट ४ अंक भएको छ। यसै समूहको शीर्ष स्थानमा रहेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले भने क्लब ब्रुगेसलाई ५–० ले हराउँदै शतप्रतिशत जित हासिल गरेको छ। जितसँगै पीएसजीले ३ म्याचबाट ९ अंक बटुलेको छ।