काठमाडौं र चितवनको उपाधि जित्ने लक्ष्य

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

पहिलोपटक फ्रन्चाइजरूपमा महिलातर्फ आयोजनामा भएको महिला च्याम्पियपन्स लिग टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदै छ। उपाधि भिडन्तमा अपराजित चितवन राइनोज र क्याट क्विन्स काठमाडौंले प्रतिस्पर्धा गर्दै छन्।

यसअघि समूह चरणमा भएको खेलमा चितवनले काठमाडौंलाई ५ विकेटले हराएको थियो। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुबिना क्षत्री बेलबासीले नै काठमाडौंको नेतृत्व गरिरहेकी छिन्। उता चितवनकी कप्तान इन्दु वर्मा रहेकी छिन्। दुवै टोलीले उपाधि जित्ने लक्ष्य लिएका छन्।

रुबिना पहिलो खेलमा चितवनविरुद्ध १ रनमा रनआउट हुनु नै दुर्भाग्य भएको थियो। काठमाडौंले सो उद्घाटन खेल सहजै हारेको थियो। तर, पछिका खेलमा रुबिनाले सानदार खेल देखाएपछि काठमाडौंले लगातार चार खेल जितेको छ।

रुबिनाले जारी प्रतियोगितामा दुई अर्धशतक प्रहार गरिसकेकी छिन्। त्यस्तै उनले तीनपटक प्लेयर अफ द म्याच घोषित भइसकेकी छिन्।अझ मंगलबार भएको क्वालिफायर खेलमा विराटनगर टाइटन्सलाई हराउँदा रुबिनाले आफूलाई उत्कृष्ट बलरका रूपमा समेत प्रस्तुत गरेकी थिइन्। उनले ४ ओभरमा १ मेडन राख्दै ४ रन खर्चेर ४ विकेट लिएकी थिइन्।

उनको यो प्रदर्शनले गर्दा विराटनगर ६९ रनमै अलआउट भएको थियो।चन्द्रागिरि मन्दिरमा भएको पत्रकार सम्मेलनमा रुबिनाले पहिलो खेलमा बेहोरेको हारलाई बिर्सेर खेल्ने बताएकी छिन्। उनले उपाधि जित्नेतिर ध्यान केन्द्रित हुने बताइन्।

उता चितवनको लक्ष्य भने उनलाई नै नियन्त्रणमा राख्ने योजना रहेको कप्तान इन्दुले बताइन्। उनले लगातार जितिरहेको क्रमलाई निरन्तरता दिने र सुखद अन्त्य गर्ने लक्ष्य लिएकी छिन्।
प्रतियोेगिताको उपाधि जित्ने टोलीले ७ लाख नगद पुरस्कार हासिल गर्नेछ।

त्यस्तै उपविजेता टोलीले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ। पहिलोपटक भएको फ्रान्चाइज प्रतियोगितामा ५ शहरका चितवन राइनोज, क्याट क्विन्स काठमाडौं, विराटनगर टाइटन्स, पोखरा पल्टन र ललितपुर फाल्कनले सहभागिता जनाएका छन्।

तस्वीर : उजोल डंगोल