विकासमा राजनीति आवश्यक छैन ः मन्त्री बाँस्कोटा



नेपाल समाचारपत्र, काभ्रे।

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विकासमा समुदायसँग साझेदारी आवश्यक भएको बताउनुभएको छ। ‘विकासमा राजनीति आवश्यक छैन, अपराधीकरण र भ्रष्टीकरण राजनीतिमा हुन सक्दैन’ –मन्त्री बास्कोटाले भन्नुभयो।

लायन्स हार्ट क्लीनिक परियोजना, लायन्स क्लब अफ काभ्रे बनेपाले आयोजना गरेको लायन्स हार्ट क्लीनिक सञ्चालनार्थ परियोजना प्रस्तुतीकरण तथा शुभ दिपावली, नेपाल सम्बत् ११४० र छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले आफूलाई भन्दा अरूका लागि विकास आवश्यक भएको बताउनुभयो।

‘विकास र प्रकृतिको बचाउ सँगसँगै हुनु पर्छ’ –मन्त्री बास्कोटाले भन्नुभयो– ‘बिरामी भएपछि उपचार मात्रै हैन, बिरामी हुनै नदिन वातावरण बनाउनुपर्छ।’ बनेपामा खानेपानी, फोहोर व्यवस्थापन, करिडोर, पार्क निर्माणलगायतका महत्वपूर्ण आयोजना सञ्चालन हुने मन्त्री बाँस्कोटाले बताउनुभयो। ‘अपांगमैत्री संरचना निर्माणमा ध्यान दिनुपर्छ,’ मन्त्री बाँस्कोटाले भन्नुभयो– ‘लायन्स परोपकारी संस्था हो, अझै समुदायमा आधारित कार्यक्रम सञ्चालन गर्नुपर्छ।’

लायन्स हार्ट क्लिनिक परियोजना, लायन्स क्लब अफ काभ्रे बनेपाले नेपाल हार्ट फाउन्डसनको सहयोगमा हृदयरोगसम्बन्धी जोखिममा परेका बिरामीको उपचारका लागि अत्याधुनिक यन्त्र उपकरणका लागि रकम संकलन गरिरहेको छ।

१ करोड ४२ लाख मूल्य पर्ने ईसीजी, इको कार्डियोग्राम, टीएमटी, होल्टार मनिटरीङ, अल्ट्रासाउन्ड (सोनोग्राम)लगायतका यन्त्र उपकरण जडान गर्ने उद्देश्यले उक्त रकम संकलन गरिएको लायन्स मुटु क्लिनिक तथा भवन निर्माण समिति अध्यक्ष रामराजा धौभडेलले बताउनुभयो।

लायन्स क्लब अफ काभ्रे बनेपाले उक्त मूल्यमा ४८ लाख जुटाउन पहल गरेको धौभडेलले बताउनुभयो। विभिन्न क्षेत्रका व्यक्तिले ३७ लाख नगद सहयोग गरेको भए पनि अझै केही रकम अपर्याप्त भएको उहाँले बताउनुभयो।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठ, परियोजना प्रमुख सुर्दशन धर प्रधानांग, लायन्स राजु सरकार, पूर्ण पलाञ्चोके, विधान जोशीलगायतले लायन्सका गतिविधि तथा परियोजनाका बारेमा जानकारी गराउनुभएको थियो।

बनेपा नगरपालिकाले हार्ट क्लिनिकका लागि निशुल्क जग्गा उपलब्ध गराएको छ भने अन्य संरचना निर्माणमा पनि सहयोग गर्ने नगर प्रमुख लक्ष्मीनरसिं बादेले बताउनुभयो।
नेपालमा मात्रै नभई विश्वमै सर्ने भन्दा नसर्ने रोगबाट मर्नेहरूको संख्या धेरै भएको छ।

शहरी क्षेत्रमा हृदयाघातका बिरामी धेरै हुने भएकाले शहरको वातावरण, शहरमा बस्ने व्यक्तिहरूको रहनसहन र खानपान फरक हुने भएकाले त्यसमा सुधार गर्नुपर्ने नगरप्रमुख बादेले बताउनुभयो। उक्त क्लिनिकमा तीन जना चिकित्सकले उपचार सेवा प्रदान गर्नुहुने अध्यक्ष धौभडेलले जानकारी दिनुभयो। सोहि अवसरमा अपांगता भएका रिता घोरसाइने र गगन सेवाचार्यलाई मन्त्री बाँस्कोटाले ह्विल चियर हस्तान्तरण गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्