भूकम्पपीडितको पक्की घरमा बस्ने सपना

0
Shares

चिरञ्जीवी मास्के, दोलखा।

भूकम्प गएको पनि चार वर्ष बितिसकेको छ। तर दोलखा भीमेश्वर नगरपालिका–१ बोसिम्पाका थामी समुदायका मानिस अहिले पनि टहरामै दैनिकी गुजार्न बाध्य छन्। ‘अब भने पक्की घर बनाएर बस्न सकिन्छ कि भन्ने आशा पलाएको छ,’ स्थानीय रामबहादुर थामीले भन्नुभयो– ‘पुनर्निर्माण प्राधिकरणले एकीकृत बस्ती निर्माणको लागि पूर्वाधारको काम सकेको छ र तिहार लगत्तै लालपूर्जा आउँछ भनेको छ। अनि हामी पक्की घर निर्माण शुरू गर्छांै।’

भूकम्पपछि बोसिम्पालाई उच्च जोखिमको क्षेत्र भनिएकोले त्यहाँका ८४ घरधुरीका भूकम्प पीडितहरू नजिकैको पानीपोखरीको टहरामा बस्दै आएका थिए। पुनर्निर्माण प्राधिकरणले एकीकृत बस्ती निर्माण गरिदिने भनेको र आर्थिक अभावको कारण अन्यत्र जमिन खरिद गरेर घर बनाउनसमेत नसक्ने अवस्था भएकोले बोसिम्पाका थामी समुदाय एकीकृत बस्ती कुरेर बस्न बाध्य थिए।

एकीकृत बस्ती निर्माण ढिला भएपछि बोसिम्पाका ८४ घरधुरी भूकम्प पीडित मध्ये अन्यत्र जग्गा हुने केहीले घर बनाएर बसेका छन्। ५७ घर धुरीको परिवार भने अहिले पनि वडा नम्बर १ कै पानीपोखरीमा टहरामै बसिरहेका छन्।

सरकारले पुनर्निर्माण प्राधिकरणमार्फत ५७ घरधुरीलाई पानीपोखरीमा एकिकृत बस्ती निर्माण गरी स्थानान्तरण गरिदिने भने पनि अहिलेसम्म एकिकृत बस्ती निर्माणको काम सम्पन्न नभएकोले ५७ घरधुरीका करिब ३ सय भन्दा बढी मानिस टहरामै बस्न बाध्य भएको पानीपोखरी उपभोक्ता समितिका सचिव भीमबहादुर थामी बताउनुहुन्छ।

सरकारले करिब ३ करोड ६० लाखको लागतमा पानीपोखरीमा एकीकृत बस्तीको लागि जग्गाको प्लटिङ, सडक तथा नाला निर्माण गरिदिएको छ। तर प्लटिङको जग्गा भीमेश्वर नगरपालिकाको मापदण्डअनुसार नभएकोले घर निर्माणमा समस्या देखिएको थियो। अहिले जग्गा थप हुने भएपछि तिहारलगतै घर निर्माण शरू हुने पानीपोखरी उपभोक्ता समितिका अध्यक्ष कुमार थामी बताउनुहुन्छ।

‘अब भने पक्की घरमा बस्ने सपना पूरा होला जस्तो छ,’ उपभोक्ता समितिका अध्यक्ष कुमार थामीले भन्नुभयो।बोसिम्पाका ५७ घरधुरी मध्ये चार घरधुरी विश्वकर्मा र अरु सबै थामी समुदायका छन्। भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी पहिले पुनर्निर्माण प्राधिकरणले डिजाइन गरेको एकीकृत बस्तीको घडेरी नगरपालिकाको मापदण्डअनुसार नभएकोले मापदण्डअनुसारको बनाउन पत्राचार गरिएको र सोहीअनुसार डिजाइन भएर आएकोले अब घर निर्माणको काम अघि बढ्ने बताउनुहुन्छ।

बोसिम्पाका भूकम्प पीडितको लागि पानीपोखरीमा नमुना बस्ती निर्माण गर्ने नगरपालिकाको योजना भएकोले एकै डिजाइनको भवन निर्माणको लागि नगरपालिकाले समेत सहयोग गर्ने नगरप्रमुख केसीको भनाइ छ।