सौर्य चुल्हो सरकारी निकायबाट बेवास्ता




टीका बन्धन

झापाको बेलडाँगी शिविरको ‘सेक्टर ए’ मा आश्रय लिइरहेकी मधुमाया मगरको छाप्रो परिसरमा सुरक्षाकर्मीले पहरा दिएसरह दिनरात खडा हुन्छ सौर्य चुल्हो। छोरा–छोरी पुनर्वासमा अमेरिका पुगेपछि एक्लै भएकी उनको छाप्रोको सदस्यझैं बनेको छ घाम चुल्हो। जन्मभूमि भुटानमा छँदा घामको तापबाट खाना र अन्य परिकार पनि पकाउन सकिन्छ भन्ने सपनामा पनि नदेखेको मगर बताउँछिन्।

झट्ट हेर्दा टेलिभिजन र टेलिफोनका डिस एन्टेनाझैं देखिने भएकाले घाम चुल्होसँग पहिलोपटक साक्षात्कार हुनेलाई ज्यादै नौलो र अनौठो लाग्छ। घाम चुल्होमा पकाउनका लागि सिल्भरका काला डेक्ची र कित्ली प्रयोग गरिन्छ।

उनी भन्छिन्– ‘शिविरमा बस्न थालेपछि यस्तो पनि हुन्छ भन्ने सुन्यौ, शुरूमा त विश्वास लागेको थिएन, आफैंले प्रयोग गरेपछि त पक्का भयो, रामै्र काम गर्दोरहेछ।’सन् १९९४ मा भुटानबाट नेपाल आएको मगरको परिवार सोही वर्षदेखि सन् २०१२ सम्म झापाको खुदुनाबारी शिविरमा बस्यो। पुनर्वासका लागि शरणार्थीले तेस्रो मुलुक रोज्न थालेपछि मगरसहितको परिवार २०१२ पछि बेलडाँडी शिविर सर्यो।

खुदुनाबारीमै रहँदा मधुमाया यस्तो चुल्होसँग अभ्यस्त हुन थालेकी हुन्, उनले घाम चुल्हो चलाउन थालेको १५ वर्ष भयो। ‘खुदुनाबारीमा हुँदा यस्तै चुल्होमा पकाएर ९/१० जनाको परिवारले खाना खायौं, चर्को घाम लागेको दिनमा दुई घन्टाभित्रैमा धेरै कुरा पकाउन सकिन्छ।’ –विगत स्मरण गर्दै उनले भनिन्।

                                                           आफ्नो छाप्रो परिसरमा रहेको चुल्हो देखाउँदै मधुमाया मगर।

घाम चुल्हो प्रयोगसँगै पारिला दिनमा ग्यास, स्टोभ र परम्परागत दाउराको खपत निकै घटेको मधुमायाकी छिमेकी भीममाया पाण्डे र मीना प्रधान आफ्नो अनुभव सुनाउँछन्। झट्ट हेर्दा टेलिभिजन र टेलिफोनका डिस एन्टेनाझैं देखिने भएकाले घाम चुल्होसँग पहिलोपटक साक्षात्कार हुनेलाई ज्यादै नौलो र अनौठो लाग्छ। घाम चुल्होका लागि सिल्भरका काला डेक्ची र कित्ली प्रयोग गरिन्छ।

काला भाडा प्रयोग गर्दा चुल्होमा छिट्टै तात्ने र छिट्टै पाक्ने भएकाले यस्तै भाडा प्रयोग गरिन्छ। बज्र फाउन्डेसन नेदरल्यान्ड/नेपालले सन् २००४/२००५ मा पूर्वी नेपालमा आश्रय लिएका शरणार्थीको जीवन शैलीलाई सहज बनाउन यस्तो चुल्हो वितरण गरेको थियो। चुल्हो चलाउने विधिबारे तीन दिनको तालिमपछि दुई घर बराबर एक चुल्हो बाँडिएको थियो।

शरणार्थी पुनर्वासका लागि जानुअघि बेलडँँगीका अधिकांश छाप्रामा बाक्लै संख्यामा यस्ता चुल्हो देखिन्थ्यो। शिविरको ‘सेक्टर डी’ का खेमप्रसाद अधिकारी भन्छन्– ‘छोरा, बुहारी, नातिनातिना विदेश गए यस्तो चुल्हो पनि हराउँदै गयो, तर मैले चाहिँ अझै पनि चलाइरहेको छु।’ उनले अझ प्रस्ट्याए– चर्को घाम लागेका बेला दाल, भात राम्रैसँग पाक्छ, शुरू–शुरूमा केही गहनाउँछ, बानी भएपछि गन्ध पनि पत्तो हुँदैन।

हिउँदयाम र मौसम खुला नभएको समयमा भने यस्तो चुल्हो प्रभावकारी प्रभावकारी नहुने अधिकारीले बताए। शरणार्थी अमेरिकालगायत तेस्रो मुलुक पुनर्वास गएपछि प्रयोगविहीन भएको चुल्हो स्थानीयले समूहमार्फत खरिद गरी प्रयोग गर्न थालेका छन्। गाईबस्तुलाई खोले (कुँडो) पकाउन, घरायशी प्रयोजनका लागि पानी तताउन, आलु, तरुल, मटर, केराउ जस्ता परिकार उसिन्न यस्तो चुल्हो निकै प्रभावकारी हुने स्थानीयले बताए।

राम्रोसँग घाम लागेको दिनमा प्रायः सबै परिकार पकाउन सकिने दमक नगरपालिका–१ भृकुटी चोकका तुलसीप्रसाद लामिछाने आफ्नो अनुभव सुनाउँछन्। ‘म प्रायः यही चुल्होबाटै गाईबस्तुलाई खोले पकाउँछु, चर्को घाम लागेको बेलामा एक डेढ घन्टामा दाल पनि राम्रोसँग पाक्छ’, उनी भन्छन्– ‘प्रयोग गर्न थालेको सात÷आठ वर्ष भयो राम्रै काम गरिरहेको छ।’ घाम चुल्होका कारण खोले पकाउनका लागि चाहिने दाउरा भने निकै जोगिएको लामिछानेले बताए।

सौर्य ऊर्जा मुलुकका दूरदराजसम्म विस्तार भए पनि सरकारी स्तरबाट अझै सौर्य चुल्हो नेपालीका घरमा भित्रिन सकेको छैन। वैकल्पिक ऊर्जाका विविध अभ्यासलाई प्रोत्साहन गर्न २०५४ मा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी) स्थापना भएको हो। एईपीसीले सौर्य तापीय प्रणाली र सौर्य विद्युत्लाई प्रवद्र्धन गर्ने कार्यक्रम प्राथमिकतामा रहेको जनाए पनि संस्था स्थापनाको दुई दशकको अवधिमा सौर्य चुल्होको अभ्यास नीतिमा मात्रै सीमित भएको छ।

सौर्य चुल्होको सम्भावना उच्च हुँदाहुँदै पनि व्यवहारमा उतार्न ढिलो भएको स्वीकार्दै केन्द्रका ऊर्जा अधिकृत सुन्दरबहादुर खड्का भन्छन्– ‘सौर्य विद्युत् छोटो समयमा लोकप्रिय बन्यो तर सौर्य तापीय प्रणाली अघि बढाउन सकेका छैनौं।’

एईपीसीले अलैंची, अदुवा जस्ता उत्पादनलाई सुकाउन ‘ड्रायर’ मेसिन प्रयोगमा ल्याइसकेकाले सौर्य चुल्हो नेपालीका घर प्रयोगमा ल्याउन असम्भव नरहेको उनको भनाइ छ। ‘हामीसँग सौर्य चुल्होको नीति बनिसकेको छ, पारिलो घाम लाग्ने पहाडदेखि तराईका भू–भागमा यस्तो अभ्यास गर्न सकिन्छ, अर्थ मन्त्रालयसँग बजेट माग गरेर नमुना परियोजना अघि बढाउनेबारेमा गृहकार्य भइरहेको छ।’ –खड्काले भने।

परम्परागत दाउरा चुल्हो प्रयोग गर्ने बानी भएका नेपालीलाई यस्तो अभ्याससँग ढुक्क बनाउन भने निकै समय लाग्न सक्ने एईपीसीका अन्य अधिकारी बताउँछन्। बारम्बार खर्च गर्न नपर्ने र प्रदूषणमुक्त अभ्यास भएकाले स्थानीय निकायसँगको हातेमालो, अनुशिक्षण र सचेतनापश्चात् यस्तो चुल्हो प्रयोगमा ल्याइएको खण्डमा प्रभावकारी बन्ने उनीहरूको बुझाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्