अटोलाई ‘टाइमपास’ बनाउँदै चालक

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा।केही दिनअघिको कुरा हो, मञ्जला थापा हेटौंडा बजारबाट अटो चढेर एचआईडीतर्फ लाग्नुभयो। बजार क्षेत्र र एचआईडीबीच बाटोमा उहाँले त्रासको सामना गर्नुप¥यो।

कुरा थियो, अटोको हुइँकाइ तर, अटोचालकको भने वृद्ध। थापाले त्यो हुइँकाइसँगै चालकलाई उमेर सोध्नसमेत भ्याउनुभयो। उहाँको उमेर बताइयो–६५ वर्ष।

थापाले सोध्नुभयो– ‘तपार्इंले यत्तिको उमेरमा किन अटो चलाउनु भएको ?’ जबाफ थियो– ‘यसो टाइमपास।’ घरमा केही काम हुँदैन, त्यसैले अलिअलि कमाइ हुने र आफूलाई समय कटाउन पनि सजिलो हुने उहाँले निर्धक्क जबाफ फर्काउनुभयो।

हेटौंडा बजारमा हाल अटोको ठूलै भीड लाग्ने गरेको छ। करिब दुई हजारको हाराहारीमा रहेका अटो हेटौंडा बजारमा गुड्दै आएका छन्। बढ्दो सवारी चापसँगै दुर्घटना पनि बढ्दै गएको छ।

अटो उत्तिकै दुर्घटनामा पर्ने गरेको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। सरकारले सवारी चलाउन लाइसेन्स प्राप्त गर्न उमेर हद तोकेको छ। तर, यहाँ भने उमेर हदको विचारै गरिन्न।

हाल हेटौंडा बजारमा अधिकांश अटोचालकले अटोलाई ‘टाइमपास’का रूपमा लिने गरेको पाइएको छ। १५ देखि ६५ वर्ष उमेरसम्मले अटो चलाउँदै आएको प्रहरीको आशंका छ। हेटौंडा बजारमा अधिकांश लाइसेन्स नभएका अटो कारबाहीमा परिरहेको दिनप्रतिदिन सुन्दै आएका छौं।

उमेर नपुग्दै चलाउने र उमेर पुगे पनि कागजपत्रबिना चलाउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।अटोले नियम मिच्ने काम गरेको ट्राफिक प्रहरीको दाबी छ। उमेरमा अपरिपक्वताका कारण अटो बेस्सरी हुइँकाउने तथा जथाभावी ओभरटेक गर्ने गरिएका कारण दुर्घटना हुने गरेको छ।

अज्ञानताकै कारणले कति अटो चालककले साइडलाइट बाल्न नजान्ने, बाले पनि गलत साइडको बाल्ने, अव्यवस्थितरूपमा पार्किङ गर्ने तथा धेरै गलत काम अटोचालकले गर्ने गरेको प्रहरीको भनाइ छ।

चालू आर्थिक वर्षमा तीन वटा अटो दुर्घटनमा परेको ट्राफिक प्रहरी काशी थापामगरले जानकारी गराउनुभयो। अन्य सामान्य दुर्घटना भने दिनमा चारदेखि सात वटासम्म हुने गरेको उहाँको भनाइ छ। उहाँका अनुसार अधिकांश अटो चालकले तीव्रगतिमा चलाउने गरेका कारण दुर्घटना हुने गरेको छ।

आर्थिक वर्ष २०७५–०७६ मा १ हजार८ सय १० वटा अटो कारबाहीमा परेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ। तीमध्ये ७५ प्रतिशत अटो चालकले लाइसेन्सबिना सवारी चलाएको ट्राफिक प्रहरी थापामगरले बताउनुभयो।

हेटौंडा उपमहानगरपालिकाले सवारी साधनलाई थप व्यवस्थित गर्ने बताएको थियो। हेटौंडामा अटो/मयुरीहरूलाई थप व्यवस्थापन गर्न लागिएको मेयर हरिबहादुर महतले एक सार्वजनिक कार्यक्रममा उद्घोष गर्नुभएको थियो।

अटोका कारण बजार क्षेत्र अस्तव्यस्त भएपछि मुख्य बजार क्षेत्रमा अटो/मयुरीलाई प्रवेश नदिने तयारी थालिएको उपमहानगर मेयर महतले बताउनुभएको थियो। अटो/मयुरीलाई हेटौंडा सीमा चोकदेखि पिपलबोटसम्म, राप्ती रोडमा यति ड्रगहाउससम्म विशेषगरी बुद्धचोकमा आउन नदिने गरी तयारी थालिएको मेयर महतले उक्त कार्यक्रममा भन्नुभएको थियो।

‘अटो÷मयुरी धेरै भएकाले यसको व्यवस्थापन गर्न लागिएको हो,’ उहाँले भन्नुभएको थियो– ‘सबै अटो÷मयूरीलाई तोकिएको कागजपत्रसहित उपमहानगरपालिकामा स्टिकर लिन आ≈वान भएसँगै व्यवस्थापन गर्न लागिएको थियो।’

हेटौंडाका साना सवारी व्यवसायीले क्षमताभन्दा बढी विद्युतीय रिक्सा तथा अटो आयात भइरहँदा पार्किङमा समस्या भइरहेको छ। व्यवस्थित पार्किङ माग गर्दै त्यसलाई व्यवस्थित गर्नुपर्ने माग गरेका हुन्।

तीनपांग्रे अटो तथा रिक्सा संयुक्त संघर्ष समितिले ६ बुँदे माग राख्दै जिल्लामा तीनपांग्रे सवारीसाधनको एकिन संख्या संकलन गरी थप आयात गर्न रोक लगाउनुपर्ने बताएको छ।

समितिले सन्तुलित भाडादर कायम गर्न, तीनपांग्रे सवारीलाई मुख्य राजमार्ग प्रवेशमा रोक लगाउने सरकारी निर्णय खारेज गर्न, मौखिक र कार्यदक्षताका आधारमा लाइसेन्स प्रदान गर्ने व्यवस्था गर्न तथा गैरकानुनीरूपमा सञ्चालनमा रहेका सवारीसाधन छानबिन गरी कारबाही गर्न माग गरेको थियो।

तीनपांग्रे साधन आवश्यकताभन्दा धेरै आयात हँुदा बजार अस्तव्यस्त भएकाले त्यसको आयात रोक्नुपर्ने बताइएको छ। वैज्ञानिक ढंगबाट पार्किङ व्यवस्था मिलाउन हेटौंडा उपमहानगरपालिकासँग आग्रह गरिए पनि त्यसो हुन सकेको छैन।