गाउँपालिका केन्द्र विवाद उत्कर्षमा स्थानीयद्वारा तोडफोड र कागजात कब्जामा

0
Shares

चिरञ्जीवी मास्के, दोलखा। दोलखाको कालिञ्चोक गाउँपालिकाको केन्द्र विवाद उत्कर्षमा पुगेको छ। आइतबार राति कालिञ्चोक गाउँपालिका–५ लापिलाङका स्थानीयले हाल गाउँपालिकाको केन्द्र रहेको सुनखानीबाट महत्वपूर्ण कागजात र केही थान कुर्सी वडा नम्बर ५ को बान्द्रेथलीमा लगेका छन्।

उनीहरूले गाउँपालिकाको केन्द्र बान्द्रेथलीमा राख्ने निर्णय भए पनि जबरजस्ती सुनखानीमा राखिएकोले सर्वसम्मत निर्णय भएको ठाउँमा कार्यालय राख्न कागजात तथा कुर्सीहरू सारिएको बताएका छन्। आइतबार राति आएका लापिलाङका स्थानीयले गाउँपालिकाको कागजात र कुर्सी बोलेराख गाडीमा राखेर बान्द्रेथली लगेका थिए।

गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले गाउँ कार्यपालिका र गाउँ सभाले निर्णय गरेर वडा नम्बर ५ (साविक लापिलाङ गाविस) को बान्द्रेथलीमा केन्द्र राख्ने निर्णय भएको र स्थानीयले सोही निर्णय कार्यान्वयनको लागि सुनखानीमा रहेको गाउँपालिकाका कागजात, कुर्सीलगायतका सामग्री लगेको बताउनुभयो।

अध्यक्ष थामीले अब गाउँपालिकाको केन्द्र बान्द्रेथलीमै रहने र नियमित कामसमेत बान्द्रेथली केन्द्रबाटै सञ्चालन हुने बताउनुभयो। गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकले भने आइतबार राति कालिञ्चोक गाउँपालिकाको केन्द्र सुनखानीबाट अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बस्ने कुर्सी, लेखा शाखाका महत्वपूर्ण कागजातलगायतका सामग्री चोरी भएको र सोको जानकारी स्थानीय प्रशासनलगायत सरोकारवाला निकायलाई गराइएको बताउनुभयो।

पाठकले अहिले गाउँपालिकाको केन्द्र विवाद नरहेको र केन्द्र कहाँ राख्ने भन्ने विषयमा गाउँसभामा मतदान भएर त्यसको आधारमा टुङ्गो लाग्ने बताउनुभयो। उपाध्यक्ष पाठकले केन्द्रको विषयमा एक पक्षले लापिलाङमा हुनुपर्ने भनेर प्रदेशमा पठाएको भए पनि प्रदेश सरकारले प्रक्रिया नपुगेको भन्दै कुनै निर्णय नदिएको उल्लेख गर्दै हाललाई रातो किताबमा समेत नाम आएको कालिञ्चोक गाउँपालिका–८ सुनखानीबाटै कार्यालय सञ्चालन हुने बताउनुभयो।

घटना भएलगतै प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसहितको टोलीले गाउँपालिका कार्यालयको स्थलगत अनुगमनसमेत गरेको छ।

प्रमुख जिल्ला अधिकारी रिजालले हाल सरकारले तोकेको ठाउँ नै गाउँपालिकाको आधिकारिक केन्द्र भएकोले जनप्रतिनिधिको समेत संलग्नतामा कार्यालय तोडेर सामग्री लानु गैरकानुनी काम भएको बताउनुभयो।

कालिञ्चोक गाउँपालिकाको कार्यालयबाट सामान लगेको विषय राजनीतिकरूपमा कसरी हेर्ने त्यो अर्को पाटो होला तर कार्यालय तोडफोड गरी सामान लानु गैरकानुनी काम भएकोले स्थानीय प्रशासनले त्यसलाई कानुनी प्रक्रियाअनुसार नै कारबाही अगाडि बढाउने प्रमुख जिल्ला अधिकारी रिजालको भनाइ छ।