जनता उपचार सहायता कोष प्रभावकारी

0
Shares

उत्तम नेपाल, भद्रपुर।झापाको हल्दीबारी गाउँपालिकाले सञ्चालन गरेको जनता सहायता उपचार कोष प्रभावकारी देखिएको छ। तीन आर्थिक वर्ष यताबाट शुरू गरिएको सो कोषले सार्थकता पाउँदै गएको हो।

‘म स्वास्थ्य मेरो गाउँ स्वास्थ्य’ भन्ने अभियान सञ्चालनमा ल्याएको गाउँपालिकाले कमजोर आर्थिक अवस्था भई उपचार गराउन नसकेका गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने विपन्न परिवारका व्यक्तिलाई जनता उपचार सहायता कोषमार्फत रकम उपलब्ध गराउँदै आएपछि यसको प्रभावकारिता बढेर गएको छ।

आर्थिक वर्ष ०७४–७५ देखि चालू वर्षको भदौसम्म १ सय ४१ जना बिरामीलाई २४ लाख २० हजार रुपियाँ नगद उपचार सहयोग गरेको गाउँपालिकाको तथ्यांकमा उल्लेख छ। गाउँपालिकाले उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष ०७४–७५ मा ३४ जना बिरामीलाई ७ लाख ९० हजार, ०७५–७६ मा ६६ जना बिरामीलाई १५ लाख ७५ हजार र चालू आर्थिक वर्षको भदौ महिनासम्म ४१ जनालाई १ लाख ५५ हजार रुपियाँ सहयोग गरेको छ।

नागरिकको स्वास्थ्योपचारमा केही मात्रामा आर्थिक सहयोग गर्ने र गाउँपालिका क्षेत्रभित्रको प्रवद्र्धनात्मक, निरोधात्मक एवम् प्रचारात्मक स्वास्थ्यप्रति प्रत्यक्ष तथा परोक्ष किसिमले संवेदनशीलता प्रदर्शन गर्ने र सोहीबमोजिमका क्रियाकलापमार्फत स्थानीयवासीको स्वास्थ्य स्थिति सुधारसँगै स्वस्थ्य र सुखी हल्दीबारीवासीको परिकल्पनालाई मूर्तता दिँदै समामाजिक न्यायको अनुभूतिसमेत गराउने सोचका साथ गाउँपालिकको प्रथम गाउँसभाद्वारा स्थिापित जनता उपचार सहायता कोष सञ्चालन निर्देशिका २०७४ स्थापना गरेको थियो।

पहिलो वर्ष स्थापना गरेको सहायता कोषमा २० लाख रुपियाँ विनियोजन गरी ०७४ मंसिर ८ गतेबाट शुरू गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनुभयो।

बिरामीले चिकित्सकले सिफारिस गरेको पत्रका साथ सम्बन्धित वडा कार्यालयबाट निक्र्योल भई गाउँपालिकामा वडाको सिफारिस आएपछि कोष परिचालन समितिले निर्णय गरेर बढीमा २५ हजार रुपियाँ चेकमार्फत तत्काल रकम उपलब्ध गराउने उहाँको भनाइ छ।

बिरामीले पाउने रोगअनुसारको रकममा मृगौला तथा डायलाइसिस, क्यान्सर, मुटुको सर्जरी, प्यारालाइसिस र अन्य रोगमा रकम पाउने उल्लेख छ।परिचालन समितिमा गाउँपालिका उपाध्यक्ष संयोजक रहने ७ जनाको समिति रहेको जनता उपचार सहायता कोष सञ्चालन संयोजक डम्बरबहादुर गिरीले बताउनुभयो।

जनताले तिरेको कर जनताकै लागि भन्ने अनुभुति दिनलाई यो अभियान सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ। उपचारमा मात्र नभई स्थापना गरेको कोषबाट महामारी तथा संक्रमक, विपद्लगायतका घटनालाई समेत सहयोगको व्यवस्थापन मिलाइने उहाँको भनाइ छ।

आर्थिक अवस्था कमजोर भएका जनताको उपचारमा केही रकम उपलब्ध गराएकोमा खुसी लागेको वडा नम्बर २ की सुमित्रा राजवंशीले बताउनुभयो।

गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने कुनै पनि नागरिकले पाउने आधारभूत सेवासुबिधा गाउँपालिकाले दिँदै आएको गाउँपालिका प्रमुख रवीन्द्रप्रसाद लिंदेनले बताउनुभयो।

पैसाको अभावमा गाउँवासी पीडामा बस्न नपरोस् भन्ने उद्देश्य लिएर गरिएको अभियान झापामा पहिलो भएको उहाँको भनाइ छ।