‘ब्लोदानमा बढी चुनौती थपिएको छ’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालले मानवजीवनसँग प्रत्यक्ष सम्बन्ध रहेको रक्तदान जस्तो मानवीय कार्यमा लाग्नु एक पुण्यकार्य भएको बताउनुभयो ।

उहाँले सो कुरा ब्लडडोनर्स एसोसिएसन नेपाल (ब्लोदान) केन्द्रको आयोजनामा विजया दशमी, शुभदीपावली, नेपाल संवत् ११४० नयाँ वर्ष एवं छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै बताउनुभएको हो।

उहाँले ललितपुर महानगरपालिकाले रक्तदानको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आइरहेको बताउनुभयो। रगतको अभावमा कुनै पनि बिरामीले मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्थाहरूलाई उत्प्रेरित गर्न ललितपुर महानगरपालिकाले रक्तदाताको संख्याको आधारमा सहयोग गर्ने गरेको बताउनुभयो। साथै यस्तो मानवीय कार्यमा ललितपुर महानगरपालिका सहकार्य गरी अघि बढ्न तयार रहेको उहाँको भनाइ थियोे।

अतिथि सूर्यकुमारी श्रेष्ठले शुभकामना मन्तव्य दिँदै ब्लोदानको स्थापना र यसको आवश्यकताबारे स्पष्ट पार्नुभयो। रगत तथा रक्तदानको क्षेत्रमा स्वयंसेवीका रूपमा विगत तीन दशकदेखि निरन्तर अघि बढ्दै आइरहेको संस्थालाई रेडक्रसबाट पनि आवश्यक सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो।

उहाँले सरकारको सम्बन्धित निकायले आफ्नो बजेटको सानोहिस्सा मात्र पनि रक्तदानको क्षेत्रमा विनियोजन गरिदिने हो भने पनि धेरै ठूलो महत्व हुने बताउनुभयो।केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक डा. मनिता राजकर्णिकारले आफ्नो रगतको माग र आपूर्तिमा भइरहेको असन्तुलनबारे बताउँदै यसको समाधानका लागि स्वयंसेवी रक्तदाता, संघसंस्थालगायत अन्य निकायबीच समन्वय गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो।

कार्यक्रमका सभापति एवं ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानुबाबु प्रजापतिले ब्लोदानले आफ्नो स्थापना कालदेखि स्वयंसेवी रक्तदानको अभियानमा सक्रिय भूमिका निभाउँदै आइरहेको र आजको समयमा अझ बढी चुनौती थपिएको बताउनुभयो।

रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्था तथा महानुभावलाई यस क्षेत्रमा पुर्याउनुभएको योगदानका लागि धन्यवाद दिँदै रगतको अभाव हुन नदिन अझ बढी सक्रिय भई लाग्नुहुन पनि अनुरोध गर्नुभयो।ब्लोदानका महासचिव केशव महर्जनले सञ्चालन गर्नुभएको सो कार्यक्रममा ब्लोदान ललितपुर जिल्ला शाखाका अध्यक्ष साधुराम महर्जनले स्वागत मन्तव्य राख्नुभएको थियो।

ब्लोदान केन्द्रका अध्यक्ष ई. सानुबाबु प्रजापतिको सभापतित्व तथा ललितपुर महानगरपालिकाको उपमेयर गीता सत्यालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक डा. मनिता राजकर्णिकार, ब्लोदानका संस्थापक सदस्य तथा वरिष्ठ सल्लाहकार सूर्यकुमारी श्रेष्ठ, लोकनारायण सुवेदी, नेपाल रेडक्रस सोसाइटी ललितपुरका सभापति बाबुराजा महर्जन, ब्लोदानका सल्लाहकारहरू, ब्लोदान जिल्ला शाखाका अध्यक्षलगायतका सहभागी हुनुहुन्थ्यो।