युवा वैज्ञानिकलाई स्वदेश फर्कन आह्वान

0
Shares

नेपाल समाचारपत्र, काठमाडौंउपराष्ट्रपति नन्दबहादुर पुनले विदेशिएका युवा वैज्ञानिकलाई देशको विकासका लागि स्वदेश फर्कन आह्वान गर्नुभएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र राष्ट्रिय युवा परिषद् नेपालको संयुक्त पहलमा सोमबारबाट शुरू भएको तीनदिने अन्तर्राष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै उहाँले धारणा राख्नुभएको हो।

उहाँले नेपाली जनताको उत्थान र आर्थिक उत्पादकत्व वृद्धिमा युवा वैज्ञानिकको अतुलनीय योगदान रहेको उल्लेख गर्दै विदेशमा रहेर वैज्ञानिक खोज अनुसन्धान गर्नुभन्दा मातृभूमिमै रहेर अनुसन्धान गर्नु औचित्यपूर्ण हुने बताउनुभयो।

‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ भन्ने मूल नाराको साथ विदेशमा रहेका नेपाली युवा वैज्ञानिकले सहभागिता जनाएका छन्। समृद्धिका लागि नवप्रवर्तन, संस्थागत सुधार, विज्ञानमा लगानी, पूर्वाधार विकास, सुरक्षाका लागि विज्ञान तथा विज्ञान, प्रविधि र नवप्रवर्तनमा युवाको सहभागिता, विज्ञानमा कूटनीतिक प्रयोग, विज्ञान, प्रविधि र नवप्रवर्तनको नीति निर्माण, विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि शैक्षिकलगायतका विषयमा छलफल हुनेछ।

विज्ञान तथा प्रविधिको क्षेत्रमा विकासका लागि छलफल गर्न सम्मेलनको आयोजना गरिएको छ। सम्मेलनमा एसिया, युरोेप, अस्ट्रेलिया तथा अमेरिकासहित १२ मुलुकका युवा वैज्ञानिक सहभागी छन्। राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले विश्वका प्रख्यात विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीसमेत सम्मेलनमा सहभागी भएको बताउनुभयो। नेपालमा ब्रेन डेनको समस्यालाई समाधान गरेर ब्रेन गेन गराउन सम्मेलन उपयोगी रहेको उहाँको भनाइ थियो।

सहभागीमा रहेको विशिष्टीकृत ज्ञान, सीप, प्रविधि र नवीनतम विचारमार्फत मुलुकको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सम्मेनमा छलफल गरिनेछ। सहभागीहरूको विचारमार्फत मुलुकभित्र रहेका युवालाई नवीनतम कामका लागि अभिप्रेरित गर्न र नीति निर्माण तहमा समेत सुझाव प्राप्त हुने अपेक्षा गरिएको नास्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले जानकारी दिनुभयो।

उहाँका अनुसार स्वदेशभित्र तथा बाहिर रहेका उत्कृष्ट नेपाली तथा विदेशी वैज्ञानिक तथा प्राविधिज्ञहरू, प्राध्यापकहरू, पेसागत समूहका प्रतिनिधि, उद्योगी, व्यवसायी, नीति निर्माता, सरकारी अधिकारीको सहभागिता रहनेछ।

सम्मेलन अवधिभर ६५ वटा कार्यपत्र प्रस्तुत हुनेछ। ५० वटा पोस्टर प्रस्तुति, १८ वटा विषयगत प्रस्तुति रहनेछन्। भारत, बेलायत, जापान, दक्षिण अफ्रिका, थाइल्यान्ड, जर्मनी, चीन, नर्वे, कोरिया, सिंगापुर, अमेरिकालगायतका मुलुकबाट सहभागीहरू आएका छन्।