सरोज यादव, विराटनगर।अवैध माटो उत्खनन गर्दै आएको समूहले विराटनगर र दुहबीको सिमाना भएर बग्ने केशलिया खोला उत्खननलाई निरन्तरता दिएका छन्। नीतिनियमलाई उल्लंघन गर्दै खोलामा स्काभेटर प्रयोग गरेर उत्खनन भइरहेको पाइएको छ।
लामो समयदेखि अवैध उत्खनन हुँदै आएको विराटनगर–४ इक्राहीस्थित केशलिया खोला पुल छेउको उत्खनन रोकिएको छैन। माटो तस्करहरुले इक्राहीमा उत्खनन गर्नुका साथै त्यहाँबाट झन्डै ५ सय मिटर उत्तर–पश्चिमतर्फ रहेको पुलनजिकै स्काभेटर प्रयोग गरेर उत्खनन गरिरहेको भेटिएको छ। प्रहरीसहितको सरोकारवाला सोमबार त्यहाँ पुग्दा दर्जनौं ट्याक्ट्रर र ट्रिपरहरु माटो ओसारिरहेका थिए।
प्रहरीको टोली देख्नेबित्तिकै माटो ओसारिरहेका ट्याक्टर चालकहरुमा भागाभाग मच्चिएको थियो। कतिपय ट्याक्टर चालकहरु धान खेततर्फ भागेका थिए तर प्रहरीले उनीहरुलाई लखेटेर पक्राउ गरेको थियो। त्यहाँबाट केही ट्याक्टरसहित चालकहरुलाई नियन्त्रणमा लिएको प्रहरीले पश्चिमतर्फबाट माटो ओसारेर आउँदै गरेको ट्रिपर र चालकहरुलाई समेत नियन्त्रणमा लियो।
लगत्तै जिल्ला प्रहरी कार्यालय मोरङका डीएएसपी घनश्याम श्रेष्ठको नेतृत्वमा रहेको प्रहरी नजिकैको पुलतर्फ लाग्यो। त्यहाँको दृश्य थप अराजक थियो। विराटनगर र दुहबीको बुगडरी जोड्ने पुलनजिकै स्काभेटरबाट माटो उत्खनन गरेर ट्रिपरहरुमा लोड हुँदै थियो।
त्यहाँ खोलाको बहावभन्दा १० मिटरभन्दा पनि कम दूरीमा गहिरो खाड्ल पर्ने गरी माटो उत्खनन गरिँदै थियो। त्यहाँ उत्खननमा खटिएको स्काभेटर र माटो ओसार्न तयार रहेका ट्रिपर र चालकहरुलाई समेत मोरङ प्रहरीले नियन्त्रणमा लियो।
प्रहरीले ४ वटा ट्याक्टर, ७ वटा ट्रिपर र एउटा इस्काभेटर नियन्त्रणमा लिएको छ। प्रहरीले अवैध उत्खनन गर्ने समूहलाई नियन्त्रणमा लिएको देखेपछि स्थानीयवासी खुसी भएका थिए। लामो समयदेखि खोला खनिएका कारण आफूहरुले डुबानको समस्या झेल्नुपरेको स्थानीय मैहरुन खातुनले बताउनुभयो।
सो क्षेत्रमा उत्खनन गरिएका कारण विराटनगर–बुगडरी जोड्ने पुल पूरै जोखिममा परेको छ। विराटनगर महानगरपालिकाले उत्खनन रोक्न कडा कदम चालिने बताउँदै आए पनि व्यवहारमा त्यस्तो हुन सकेको छैन।पर्याप्त जनशक्तिको अभावलगायतका कारण समस्या भइरहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले दाबी गर्नुभयो।
स्थानीयबासी सजग नभएसम्म उत्खनन नियन्त्रण गर्न कठिनाइ हुने उहाँको भनाइ छ। उत्खननले गर्दा माटोको सतह तल झरेका कारण जग कमजोर भएर जुनसुकै बेला पुल क्षतिग्रस्त हुने सम्भावना बढेर गएको छ भने विराटनगरतर्फ उत्खनन गर्ने गिरोहले खोलाको बहाव नै परिवर्तन गरी उत्खनन गरेर भरौट बेच्दै आएका छन्।
प्रतिक्रिया