दुई नगद चोर पक्राउ

0
Shares

भद्रपुर, (नेस)।यात्रा गर्ने क्रममा बसबाट यात्रुको चोरी भएको एक लाख रुपियाँ नगद चोरी गर्ने दुई भारतीय महिला पक्राउ परेका छन्। सोमबार दिउँसो काँकडभिट्टाबाट विर्तामोडतर्फ यात्रा गरिरहेकी अर्जुनधारा–२ की ४० वर्षीया विमला रोक्का सार्कीको ब्यागबाट नगद चोरी गर्नेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

सार्कीको लेडिज ब्यागबाट रकम चोरी गर्ने भारत पानीटङ्की घर बताउने २५ वर्षीया पूजा गुल्ठा र सोही स्थानकी २५ वर्षीया कविता मण्डल रहेको जिल्लाका डीएसपी महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो।

मेचीनगरनगरपालिका–१३ स्थित चारआली चोकमा आइपुगेपछि रकम चोरी भएको थाहा पाएसँगै पक्राउ परेका महिलाको हुलिया दिएर सार्कीले प्रहरी चौकी चारआलीमा जानकारी गराएको आधारमा जिल्ला प्रहरी, इलाका धुलाबारी र चारआली प्रहरीले संयुक्तरूपममा उनीहरुलाई खोजतलास र चेकजाँच गर्नेक्रममा चारआली मेट्रो पेट्रोल पम्प नजिकबाट काँकडभिट्टातर्फ टेम्पोमा जान लागेको अवस्थामा फेला पारिएको डीएसपी श्रेष्ठले जानकारी दिनुभयो। गुल्ठाको साथबाट नगद एकलाख फेलापारी दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारी राखिएको उहाँले बताउनुभयो।