बढी शुल्क लिने डनबस्को कारबाहीमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।नगरपालिकाले नेपाल डनबस्को विद्यालयलाई विद्यार्थीमाथि नियमभन्दा बढी शुल्क थोपरिएको भन्दै कारबाही गर्ने भएको छ।महालक्ष्मी नगरपालिकाले सिद्धिपुर ललितपुरमा रहेको सो विद्यालयलाई सोमबार बसेको नगरप्रमुखस्तरको बैठकले गरेको निर्णअनुसार कारबाही गर्ने निर्णय गरेको हो।

नगरले अबउप्रान्त महालक्ष्मी नगरपालिकाको विद्यालय शिक्षा सञ्चालन, व्यवस्थापन तथा नियमनका सम्बन्धमा बनेको कार्यविधि २०७४ तथा संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ बमोजिम गर्न–गराउन निर्देशनसमेत दिएको छ।

प्रमुख शिक्षा अधिकृत रामबन्धु सुवेदीले नियमविपरीत विद्यालयले विद्यार्थीसँग लिइएको सम्पूर्ण शुल्क फिर्ता गर्न अथवा आउँदो मासिक पढाइ शुल्कमा समायोजन गर्न निर्देशन गरिएको जानकारी दिनुभयो।

विद्यालयले बढी शुल्क उठाएको विषयमा नगरपालिकाले यसअघि अधिकृत सुनिता योङहाङको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिले तीन दिनसम्म स्थलगत छानबिन गरी तयार पारिएको प्रतिवेदन पेस गरेसँगै नगरप्रमुखस्तरबाट विद्यालयलाई कारबाही गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ।

विद्यालयले विद्यार्थीको परीक्षा नतिजा समयमै लिन नआएको भन्दै जरिवाना शुल्कसमेत उठाएको थियो भने भर्ना शुल्कमा बत्ती र बिजुलीको रकमसमेत लिएको थियो।