उपनिर्वाचनका लागि तोकिए कर्मचारी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।निर्वाचन आयोगले उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गरेको छ।न्याय परिषद्को परामर्शमा ३७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका ११ राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ।

प्रतिनिधि सभा सदस्य–१, प्रदेश सभा सदस्य–३ र स्थानीय तहको प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडाध्यक्ष–४३ गरी जम्मा ५२ पदका लागि यही मंसिर १४ गते ३७ जिल्लाका विभिन्न क्षेत्रमा उपनिर्वाचन हुनेछ।आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार निर्वाचनको तयारी गराउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु जिल्लामा खटिनेछन्।

आयोगले तय गरेअनुरूप निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ। आयोगका प्रवक्ता एवं सदस्य सचिव श्रेष्ठका अनुसार उम्मेदवारको मनोनयन, दाबी विरोध, उम्मेवारको नामवली सार्वजनिक गर्नेलगायत निर्वाचन कार्यक्रमहरु सबै मुख्य निर्वाचन अधिकृतको व्यवस्थापनमा हुनेछ। प्रदेशसभा र प्रतिनिधिसभाको उपनिर्वाचनका लागि यही कात्तिक २१ गतेदेखि निर्वाचन कार्यक्रम शुरू हुनेछ।

सोही दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गरिसक्नुपर्नेछ।सोही दिन दिउँसो १ः३० बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरिने कार्यक्रम छ।उम्मेदवारको विरोधमा उजुरी दिन २२ गते बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्मको अवधि तोकिएको छ।

त्यसरी परेको उजुरी र मनोनयपत्रको २३ गते बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म जाँचबुझ हुनेछ। २३ गते दिउँसो ३ बजेदेखि अपराह्न ५ बजेसम्म मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गरिने, २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो ३ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।

त्यसैगरी २५ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। त्यसैगरी स्थानीय तहको लागि निर्वाचन कार्यक्रम कात्तिक २७ गतेदेखि शुरु हुनेछ। सोही दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, २७ गते दिउँसो १ः३० बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने आयोगले जनाएको छ

। उम्मेदवारको विरोधमा उजुरी दिन २८ गते बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म सम्मको अवधि तोकिएको छ। २९ गते बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने आयोगले जनाएको छ।आयोगले २९ गते दिउँसो ३ बजेदेखि अपराह्न ५ बजेसम्म मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्नेछ।

३० गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो ३ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यस्तै, मंसिर १ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रम नेपाल राजपत्रमा प्रकाशनका लागि आयोगले पठाइसकेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। उपनिर्वाचन हुने ३७ जिल्लाका सम्बन्धित निर्वाचन क्षेत्रमा कुल २ सय ४७ स्थलमा ५ सय ३७ मतदान केन्द्र रहनेछन्।