टोटीपाखामा नागढुंगा–नौबीसे सुरुङ मार्गको शिलान्यास मुलुक नयाँ युगमा प्रवेशः प्रधानमन्त्री

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको मुख्य नाकाका रूपमा रहेको नागढुंगा–नौबीसे खण्डमा बन्ने सुरुङ मार्गको शिलान्यास गर्नुभएको छ।
जापानी ऋण सहयोगमा जापानी ठेकेदारबाट निर्माण हुन लागेको उक्त सुरुङ मार्गको सोमबार एक समारोहका बीच शिलान्यास भएको हो।

‘विकास निर्माणमा ठेकेदार पक्षबाट ढिलासुस्ती देखिएको छ। यस योजनामा त्यो हुँदैनर तोकिएकै समय सीमाभित्र सम्पन्न हुनेमा म विश्वस्त छु।’

कार्यक्रमलाई सम्बोधन गर्दै प्रम ओलीले सुरुङ मार्गको शिलान्यास गरेर मुलुक नयाँ युगमा प्रवेश गरेको बताउनुभयो। ‘आज सोमबारको शिलान्यास कार्यक्रमले खुसी भएको छु। यस आयोजनाको माध्यमबाट हाम्रो मुलुक नयाँ युगमा प्रवेश गरेको छ।’ –उहाँले भन्नुभयो।

मुलुकमा भइरहेको विकास–निर्माणको काममा ठेकेदारबाट हुने गरेको ढिलासुस्तीतर्फ औंल्याउँदै उहाँले तोकिएको समयमै सुरुङ निर्माण सम्पन्न गर्न निर्माण पक्षलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो– ‘विकास निर्माणमा ठेकेदार पक्षबाट ढिलासुस्ती देखिएको छ। यस योजनामा त्यो हुँदैन र तोकिएकै समय सीमाभित्र सम्पन्न हुनेमा म विश्वस्त छु।’

कार्यक्रममा सम्बोधनका क्रममा उहाँले कलंकी–नागढुंगा सडक खण्डमा खाल्डाखुल्डी अविलम्ब पुरी मर्मत सम्भार गर्न आग्रहसमेत गर्नुभएको छ। शिलान्यास समारोहमा यातायात मन्त्री रघुवीर महासेठले नेपालको इतिहासमै यो सुरुङ मार्गको योजना नयाँ रहेको दाबी गर्नुभयो।

‘हामीले विकास त गर्यौं तर टनेल प्रविधिमा नगएकाले यो योजना नयाँ हो’, उहाँले बताउनुभयो– ‘निर्माण कम्पनीलाई ४२ महिनाको समय सीमा तोकिएको छ। मैले त्यो अवधि बढी हुन्छ भनेको छु। ३६ महिनाभित्र सम्पन्न गरी हस्तान्तरण गर्न भनेको छु।’अत्यधिक ट्राफिक जाम हुने यस मार्गमा सुरुङ मार्ग निर्माणपछि ट्राफिक समस्या हट्ने वक्ताहरूको विश्वास छ।

काठमाडौंको नागढुंगाको तोतिपाखादेखि धादिङको नौबीसे सिस्नेखोलासम्म दुई दशमलव सात किलोमिटर लामो सुरुङमार्गको निर्माण शिलान्याससँगै शुरू भएको छ।जापान सरकारको १६ अर्ब ऋण सहयोग र नेपालको ६ अर्ब रुपियाँ लगानीमा सुरुङमार्ग बन्नेछ। जापानी कम्पनी हाज्मा आन्दो जेभीसँग ठेक्का सम्झौता भइसकेको छ।

ठेक्का सम्झौता भएपछि निर्माण कम्पनीले साइटमा क्याम्प बनाउने, मेसिनको व्यवस्था गर्नेलगायतका तयारी गरेको छ। उक्त सुरुङ मार्गसम्म पुग्ने धादिङ र काठमाडौंतर्फ करिब साढे दुई किलोमिटर पहुँच मार्ग, सात ओटा पुल, ११ वटा कल्भर्ट, दुई ओटा फ्लाइओभर ब्रिज हुनेछन्।

सुरुङ मार्ग निर्माणपछि हालको सडकको रेखांकनमा सुधार हुने, यातायात सञ्चालनको समयमा कमी आउने र सडक यातायातलाई सुरक्षित र भरपर्दाे बनाई काठमाडौंसँग अन्य शहरको सुधारसहितको यातायात सञ्चालनमार्फत देशको आर्थिक विकासमा मद्दत पुग्ने लक्ष्य लिइएको छ।