भाइटीकाको भाइमसला, गुणस्तर हेर्ने छैन मेसिन

0
Shares

ईश्वरराज ढकाल, काठमाडौंंमिठाई र त्यसमा प्रयोग हुने रङको परीक्षण गर्ने उपकरण नभएपछि काठमाडौं महानगरपालिकाले अहिलेसम्म ‘तिहार बजार’ अनुगमन गर्नसकेको छैन।
मासिक वा दैनिकजसो अनुगमन गर्नुपर्ने महानगरपालिकाले राजधानीका करिब ४० लाख जनताको स्वास्थ्यसँग जोडिएको मिठाईलगायत खाद्यपदार्थमा प्रयोग गरिने रङ, तेल, घिउ र अम्लीयपनको अनुगमन गर्न नसकेको स्विकारेको छ।

मिठाई र भाइ–मसलामा विभिन्न किसिमको मिसावट देखिने गरेको छ।तर तिहारमा अनुगमन गर्ने तयारी भए पनि उपकरण नभएकाले काम अघि नसरेको स्विकार्दै कामपा कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीले भन्नुभयो– ‘उक्त उपकरण किन्न कामपाको खरिद इकाइमा फाइल पेस गरिएको छ, उपकरण आउनासाथ अनुगमन थालिन्छ।’

भण्डारीले उपभोक्ता संघ, वाणिज्य विभाग, उपभोक्ता हित तथा आपूर्ति विभाग, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय, कामपा प्रहरीलगायत सरोकारवाला निकायका अधिकारीको सदस्यतामा गठित ९ सदस्यीय समितिले अनुगमन गर्ने बताउनुभयो।

दूधमा भएको मिसावट र मिठाईको रङ मापन गर्ने उपकरण प्रयोग गरी अनुगमन थाल्ने दाबी गर्दै उहाँले उक्त उपकरण किन्न करिब ५ लाख रुपियाँ लाग्ने जानकारी दिनुभयो।
कामपा उपप्रमुख एवं अनुगमन प्रमुख एवं हरिप्रभा खड्गी श्रेष्ठले पनि अनुगमन गर्न केही दिन लाग्ने बताउँदै उपकरण खरिद प्रक्रियाबारे भने आफूलाई कुनै जानकारी नभएको जिकिर गर्नुभयो।

खाद्य तथा गुण नियन्त्रण विभागले भने हिजो सोमबारदेखि उपत्यकाको मिठाई पसल, डेरी उद्योग, मिठाई उद्योग, दुग्धजन्य पदार्थ भण्डारणस्थलमा विशेष अनुगमन शुरू गरेको छ। विभागका विभिन्न तीन टोलीले काठमाडौं, ललितपुर र भक्तपुरमा अनुगमन गरेको जनाइएको छ।

‘विशेष गरी मिठाईमा प्रयोग हुने रङ, दूध, घिउ, तेल, खुवालगायत सामग्रीको नमुना संकलन गरी परीक्षण शुरू गर्न थालेका छौं।’ –विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले नेपाल समाचारपत्रसँग भन्नुभयो।

उहाँले सोमबार विभिन्न डेरी उद्योगमा अनुगमन गरी केही डेरीमा उत्पादित सामग्री नमुना परीक्षण गर्न विभागमा ल्याइएको जानकारी दिनुभयो।विभागले प्रायः सधैंजसो अनुगमन गर्ने गरेको भए पनि तिहार आउनु एकसाता अघिदेखि विशेष अनुगमन थालेको जनाएको छ।

‘भाइटीकाको अघिल्लो दिनसम्म निरन्तर अनुगमन गर्नेछौं।’ –सुवेदीले दाबी गर्नुभयो।
विभागले विशेष गरी बिहीबारदेखि अनुगमनलाई तीव्रता दिने जनाएको छ। कामपासँगको सहकार्यमा तिहार लक्षित अनुगमन गर्ने योजना सारिएको विभागको भनाइ छ।