फलफूल तथा तरकारी खेती प्रवद्र्धनका लागि शीत भण्डार

0
Shares

नेपाल समाचारपत्र, दोलखा।तीन नम्बर प्रदेश सरकारको आर्थिक सहयोगमा दोलखाको भीमेश्वर नगरपालिका–८ बोच र जिरी नगरपालिकामा शीत भण्डार निर्माणको काम शुरू भएको छ।
भीमेश्वर नगरपालिका–८ बोचमा निर्माण हुन लागेको दुई सय मेट्रिक टन क्षमताको शीत भण्डारको शिलान्यास प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले गर्नुभएको छ।

शिलान्यासको क्रममा मन्त्री दावादोर्जे लामाले कृषकहरूले उत्पादन गर्ने फलफूल तथा तरकारीहरू शीत भण्डारको अभावमा खेर जाने समस्या बढ्दै गएकाले प्रदेश सरकारले शीत भण्डार निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो।

नेपाल कृषि प्रधान देश भएकाले कृषकहरूलाई यो पेसामा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्नु प्रदेश तथा संघीय सरकारको दायित्व रहेको उल्लेख गर्नुहुँदै मन्त्री लामाले तीन नम्बर प्रदेशमा यो आर्थिक वर्षमा शीत भण्डारलाई प्राथमिकताका साथ शुरू गरिएको बताउनुभयो।

बोचमा निर्माण हुने शीत भण्डारका लागि ४ करोड २२ लाख रुपियाँ खर्च हुने प्रदेश सरकारले जनाएको छ। दुई सय मेट्रिक टन क्षमताको शीत भण्डार निर्माणका लागि आवश्यक पर्ने रकममा ७० प्रतिशत प्रदेश ३ सरकारले उपलब्ध गराउने र बाँकी ३० प्रतिशत रकम भीमेश्वर नगरपालिका तथा तिलोत्तमा हिमाली फुड प्रोडक्सन एन्ड रिसर्च सेन्टर प्रालिले उपलब्ध गराउने रिसर्च सेन्टर प्रालिको व्यवस्थापक तथा सञ्चालक सदस्य उषा थापाले बताउनुभयो।

पर्वतीय क्षेत्रमा उत्पादन हुने खाद्यान्न वस्तु संकलन, प्रशोधन र बजारीकरण, विभिन्न तरकारी, फलफूल, कन्दमूल, च्याउ, रेन्वो ट्राउट माछालगायतको उत्पादन, प्रशोधन, भण्डारण र बिक्रीवितरण गर्ने उद्देश्यले स्थापना गरिएको तिलोत्तमा हिमाली फुड प्रोडक्सन एन्ड रिसर्च सेन्टर प्रालिले अहिले किवी फलको व्यावसायिक उत्पादन शुरू गरेको छ।

बोचमा निर्माण हुने शीत भण्डारले उक्त रिसर्च सेन्टर र आसपासका कृषकलाई राम्रो फाइदा पुग्न सक्ने भएकाले रिसर्च सेन्टरले समेत लगानी गरेको रिर्सच सेन्टरको संस्थापक अध्यक्ष रत्न कार्कीले बताउनुभयो।

दोलखा जिल्लामा विशेष गरी आलुको राम्रो उत्पादन हुने र भण्डारणको समस्याले आलुको बिक्रीमै समस्या देखिएकाले यो आर्थिक वर्षमा प्रदेश सरकारले दोलखाको बोच र जिरीमा शीत भण्डार निर्माण शुरू गरेको तीन नम्बर प्रदेश सरकारको कृषि परामर्शदाता लालकुमार केसीले बताउनुभयो। दोलखामा किवीको उत्पादनसमेत राम्रो भएकाले शीत भण्डारको निर्माणले किवी खेती गर्ने किसानलाई समेत फाइदा पुग्ने केसी बताउनुहुन्छ।

तीन नम्बर प्रदेश सरकारले जिरीमा ५ करोड ३८ लाख रुपियाँ लागतमा पाँच सय मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण गर्न लागेको जनाएको छ। प्रदेश सरकारले यो आर्थिक वर्षमा दोलखा, सिन्धुपाल्चोक, मकवानपुर र सिन्धुली जिल्लाको ११ स्थानमा ४५ करोड रुपियाँ खर्च गरेर शीत भण्डार निर्माण गर्न लागेको केसीले बताउनुभयो।