हात्ती नियन्त्रणका लागि दीर्घकालीन नीति भएन

0
Shares

 उत्तम नेपाल, भद्रपुर।झापामा आठ वर्षमा जंगली हात्तीका कारण ४० जनाले ज्यान गुमाइसकेका छन्। यसरी ज्यान गुमाउनेमा ४ जना भुटानी शरणार्थी बेलडाँगी दमकका रहेका छन्। वर्षेनी करोड बढी धनजनको क्षति हँुदै आएको छ।

यसै क्रममा २०६२ साल यता २०७६ असारसम्मकोे तथ्यांकले  ११ वटा हात्ती कारण मरेको देखिएको छ। झापामा हाल ८ ओटा हात्ती रहेको डिभिजन वन कार्यालयले जनाएको छ।

वर्षेनी जङ्गली हात्तीले झापामा जनधनको ठूलो क्षति पुर्याउँदै आएको छ। नियन्त्रणका लागि दीर्घकालीन ठोस योजना तथा नीति पारित नहुँदा आएको बजेट उपलब्धिमूलक नभएको पाइएको छ।

हात्तीको आक्रमणबाट आर्थिक वर्ष २०६८–०६९ मा ९ जनाले ज्यान गुमाएका थिए। सो वर्ष २३ जना पीडितलाई १८ लाख ३० हजार १ सय ६० रुपियाँ राहत वितरण गरिएको थियो। त्यसैगरी हात्तीको आक्रमणबाट ०६९–७० मा ८ जनाले ज्यान गुमाएका थिए।
सो वर्ष गाई गोठ विनाश र अन्नबाली विनाश भएका तथा शारीरिकरूपमा घाइतेसमेत गरी ७८ जना पीडितलाई राहतस्वरुप २५ लाख ४ हजार २ सय २२ रुपियाँ वितरण गरिएको थियो।त्यस्तै ०७०–७१ मा तीन जनाले अकालमा ज्यान गुमाएका थिए भने अन्य भौतिक क्षति बेहोर्ने गरी ८१ जना प्रभावित भएका थिए।
सरकारले उनीहरूलाई १८ लाख ५३ हजार ७ सय रुपियाँ बराबरको राहत रकम राहतको रूपमा प्रदान गरेको थियो।त्यसैगरी ०७१–७२ मा १ जनाको ज्यान गएको थियो भने विभिन्न क्षतिबापत ३७ लाख ४ हजार ९ सय २७ राहत रकम वितरण गरिएको थियो। ०७२–७३ मा चार जनाको मृत्यु भएको थियो भने ९ सय १९ परिवार पीडित बनेका थिए।

सो वर्ष ९५ लाख ९६ हजार २ सय १० रुपियाँ पीडितलाइ वितरण गरिएको थियो। त्यसैगरी २०७३–७४ मा ५ जनाले ज्यान गुमाएका थिए। हात्तीका कारण ७३ परिवारलाई क्षति पुगेको थियो। सो वर्षमा ३९ लाख ९४ हजार २ सय ५ रुपियाँ राहत वितरण गरिएको थियो।

त्यस्तै ०७४–७५ मा ५ जनाको मृत्यु भएको थियो भने पीडित बनेका १० परिवारले ८० लाख ८९ हजार १ सय ९० रुपियाँ राहत पाएका थिए। आर्थिक वर्ष ०७५–७६ मा हात्तीका कारण १ जनाको ज्यान गएको पाइएको छ भने ५ सय ४६ परिवारमा अन्य क्षति पुर्याएको छ।
सरकारले सो वर्षमा ६५ लाख १४ हजार २ सय ३१ रुपियाँ बराबरको राहत रकम वितरण गरेको थियो।यता चालू आर्थिक वर्षको असोजसम्म हात्तीबाट मानिसको ज्यान नगए पनि अन्य क्षति भने बढेर गएको छ।

असोजसम्म एक सय १० जनाको निवेदन परेकोमा ४३ जनाको राहत वितरणका लागि कोशी टापु वन्यजन्तु आरक्ष सुनसरीमा निवेदन पठाइसकिएको हात्ती पीडित राहत शाखाका कर्मचारी डिल्लीराम खरेलले बताउनुभयो। २०७५ पुस २५ देखि २०७६ भदौ २२ सम्म ४ सय ६६ जनाको राहत निवेदन पठाइसकेकोले तिहारपछि रकम आउने उहाँले जानकारी दिनुभयो।

विसं २०४१ सालपछि झापाको प्रमुख समस्या बन्दै गएको मानव–हात्ती द्वन्द्व नियन्त्रणको पटक–पटक गरिएको प्रयास अहिलेसम्म सफल हुन सकेको छैन्। यसको व्यवस्थापन हुन नसक्दा जनधनको क्षति हुने र हात्ती मारिने क्रम रोकिएको छैन।

वन कार्यालयले उपलब्ध गराएको विवरणअनुसार हात्तीका कारण बढी क्षति हुने स्थानमा साविक दुवागढी, चन्द्रगढी, गरामनी, पृथ्वीनगर, जलथल, बालुबाडी, घेराबारी, शान्तिनगर, बुधबारे, बाहुनडाँगी र खुदुनाबारीलगायतका स्थान रहेका छन्। आर्थिक वर्ष २०७०–०७१ सम्म बाहुनडाँगीमा हात्तीको उपद्रो निकै थियो।

हात्ती नियान्त्रणका लागि प्रकृति संरक्षण कोषबाट झापाको जलथल हुँदै मागुरमाडी सम्म १ सय ४५ किलोमिटर क्षेत्रमा जैविक मार्ग सोलार फेनसिङका लागि काम शुरू भइसकेको डिभिजन प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो।
पहिलो चरणमा ३७ किलोमिटरका लागि ६ करोडमा ठेक्का लागि २५ किलोमिटर सम्पन्न भइसकेको र बाँकी आउदो कात्तिक मसान्तसम्म सम्पन हुने गरी ठेक्का सम्झौता भएको उहाँले बताउनुभयो।