अन्तुमा पर्यटकको ओइरो, पर्यटकहरू होमस्टेमा बास नपाएर फर्किन बाध्य

0
Shares

 गणेश घिमिरे, इलाम।सूर्याेदय दृश्यावलोकनका लागि सूर्योदय नगरपालिका स्थित अन्तुडाँडामा पर्यटकको घुइँचो लागेको छ। एकैदिनमा ७ हजारसम्म आन्तरिक पर्यटक गाउँमा आएपछि स्थानीय होमस्टे तथा होटल व्यवसायीलाई पर्यटक धान्न धौधौ परेको छ।
पर्यटकीय सिजन असोज शुरू भएदेखि नै यहाँ पर्यटक आउन थालेका हुन्। विशेष गरेर दशैंअघि फूलपातीदेखि पर्यटकको चाप अत्यधिक रहेको स्थानीयले बताए। अहिले पनि दिनहुँ कम्तीमा पनि ४–५ हजारसम्म पर्यटक अन्तु आइरहेको श्रीअन्तु होमस्टे व्यवस्थापन समितिले जनाएको छ।

समितिका अनुसार अहिले अन्तुमा होमस्टे सञ्चालन गरिएका प्रत्येक जसो घर पर्यटकले खचाखच छन्। समितिका सदस्य एवं होमस्टे सञ्चालक टेकु पुलामीका अनुसार अन्तुमा रहेका जम्मा ५३ वटा होमस्टे र ६–७ वटा होटल पर्यटकले भरिएका छन्।

‘होटल र होमस्टेमा बढीमा ३ हजार पर्यटक अटाउन सकिन्छ,’ पुलामीले भन्नुभयो, ‘एकैदिन ७–८ हजारसम्म पर्यटक आउन थालेपछि धेरै पर्यटकलाई बसाउन नसकेर फर्काउन बाध्य हुनु परेको छ।’

अन्तुमा पुगेका पर्यटक बास नपाएपछि फिक्कल र कन्यामका होटलमा आएर बस्न बाध्य छन्।
अन्तुमा असोज–मंसिर र फागुन–वैशाख झुल्केघामका लागि मुख्य सिजन हो। यो सिजन चिया टिपाइ, हिमशृंखला र जैविक विविधता अवलोकनका लागि पनि उपयुक्त भएकाले यही बेला पर्यटकको ओइरो लागेको हो।

गत कात्तिकमा अन्तुडाँडाको भ्युटावरमा एकैदिन ११ हजार पर्यटकले टिकट लिएको समितिको तथ्यांकमा उल्लेख छ। अन्तुमा यतिखेर अधिकांश प्रदेश नम्बर–१ का विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आएका छन्।

यहाँ आउने पर्यटकका लागि स्थानीयले सहुलियत दरमा पर्यटकलाई खाने–बस्ने व्यवस्था मिलाएका छन्। प्रत्येक घरमा १५ देखि ३० जनासम्म पर्यटक अटाउँछन्।अन्तुडाँडाबाट झुल्केघाम र उत्तरी क्षेत्रका हिमशृंखला अवलोकन गरेपछि पर्यटकलाई अन्तुपोखरीमा डुंगा सयर गर्ने व्यवस्था मिलाइएको छ।

यहाँ पर्यटक लोभिने मुख्य आकर्षण अन्तुडाँडाबाट सूर्याेदय र हिमशृंखला दृश्यावलोकन हो। तर, पर्यटकीय चियाबारी, कृषिले सुधारिएको जीवनशैली, अन्तुपोखरीमा डुंगा सयर, लोपोन्मुख लेप्चा जातिको सांस्कृतिक संग्रहालयले पनि पर्यटकलाई अन्तुसम्म तान्ने गरेको छ।
आन्तरिक पर्यटनको लागि इलाम प्रख्यात भए तापनि सिंहबाहिनी भगवतीमा रहेको मानिस र सिंहको अनुहार देखिने ढुंगा अहिलेसम्म ओझेलमा रहेको स्थानीय शिक्षक अम्बिका पोख्रेलले बताउनुभयो।
होमस्टेमा बास बसेर ढिँडो, कोदो, फापरको रोटी, अग्र्यानिक अर्थाेडक्स चिया, लोकल कुखुराको मासु, लोकल चामलको भात, गुन्द्रुक, भुटेको मकै, तोङ्बा र स्थानीय उत्पादनको रक्सी पिउन पर्यटक लालयित हुने गरेका छन्।
मेची राजमार्गको पर्यटकीय क्षेत्र कन्यामबाट करिब आधा घण्टाको कालोपत्रे सडकबाट नै अन्तुसम्म पुगेकाले पर्यटकलाई आउ–जाउ गर्न सजिलो भएको छ। यहाँ आन्तरिक र भारतीय पर्यटकको संख्या बढी हुने गरेको छ। अरूबेला यहाँ आइपुग्ने पर्यटक प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक सम्पदामा आकर्षित हुन्छन्।

बाह्रै महिना चियो मौसम रहने अन्तु कोणधारी धुपी, सल्ला, झुम्का–झुम्का अलैंची, सिजनअनुसार फलफूल तथा अरू बालीले पनि सिंगारिएझैं देखिन्छ। अन्तुबाट कञ्चनजंघालगायत हिमशृंखला नजिकै देखिन्छन्। झापा, कन्याम, भारतको दार्जिलिङ, मिरिक, सिलगुडीलगायत बजार यहाँबाट देखिन्छन्।

अन्तु पर्यटन विकास समितिका अध्यक्ष एवं होमस्टे सञ्चालक धनकुमार आलेले अन्तुमा पछिल्लो समय पर्यटकको चाप बढी हुँदै गएको बताउनुभयो।

अन्तुमा पर्यटक बढी भएर होटल तथा होमस्टे सञ्चालकको आम्दानी बढे पनि दिनभर र रातभर खटिनुपर्दा स्वास्थ्यमा समस्या आउन थालेको होमस्टे सञ्चालक बताउँछन्। स्थानीय शोभा प्रधानले राति १–२ बजेसम्म खटिनुपर्दा स्वास्थ्यमा प्रतिकूल असर पुगेको बताउनुभयो।