स्तन क्यान्सर सचेतना महिना : क्यान्सरको उपचार स्वदेशमै गर्न सुझाब

0
Shares

नेपाल समाचारपत्र, काठमाडौ। क्यान्सरलगायतको रोगको उपचारका लागि स्वदेशका अस्पताल नै उपयुक्त थलो भएको चिकित्सक र उपचारपछि निको भएका क्यान्सर रोगीले बताएका छन्।स्तन क्यान्सरको जोखिमबारे सचेतना बढाउने उद्देश्यले अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रूपमा मनाउने क्रममा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्धिमा क्यान्सर विशेषज्ञ र क्यान्सर निको भएकाले सो कुरा बताएका हुन।

अक्टोबरलाई स्तन क्यान्सरको पहिचान, निदान र रोकथाम गर्न सन्देश फैलाउने काम गरिन्छ। ‘स्वेदशमा उपचार गर्दा डाक्टरले बिरामीको पीडा बुझेर आफ्नै भाषामा उपचार गर्छन्, तर विदेशका डाक्टरले उपचार मात्रै गर्छन्’, नेपाल क्यान्सर सहयोग समूहका महासचिव शशांक शर्माले भन्नुभयो– ‘क्यान्सर रोग औषधीले मात्रै निको हुँदैन, वैज्ञानिक र सामाजिक प्रभावले पनि ठूलो असर गर्छ।’

वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. कस्तरी मल्लले आफूलाई १८ वर्षअघि स्तन क्यान्सर भएर उपचारका लागि भारतका अस्पताल धाउनुपरेको उल्लेख गर्दै अहिले क्यान्सर निको भएर सक्रिय जीवन बिताइरहेको बताउनुभयो। शुरूको अवस्थामै स्तन क्यान्सरको पहिचान भई समयमै उपचार पाएमा पूर्णरूपमा निको हुने पनि डा. मल्लले बताउनुभयो।

नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले क्यान्सर रोगीका सामाजिक, आर्थिक, सामाजिक र मानसिक समस्या एक–आपसमा आदान–प्रदान गर्न अस्पतालले हरेक महिना क्यान्सरको उपचार गराइराखेका र निको भएकाको मासिक भेटघाटको अवसर जुटाउँदै आएको बताउनुभयो।

क्यान्सर रोगीका लागि अत्यावश्यक औषधी बेला बेलामा अभाव हुने गरेको गुनासो गर्दै डा. श्रेष्ठले यस्ता औषधीको नियमित आपूर्ति गर्नुपर्ने दायित्व बोकेको सरकारको ध्यान पुगोस् भन्नुभयो।
अस्पतालका वरिष्ठ स्तन क्यान्सर विशेषज्ञ डा. कपेन्द्र शेखर अमात्यले स्तन क्यान्सरबाट हुन सक्ने मृत्युबाट बच्नका लागि समयमै रोग पत्ता लगाउने र विशेषज्ञबाट उपचार गराउनुपर्ने बताउनुभयो।

नेपालमा स्तन क्यान्सरलगायत विभिन्न क्यान्सरका रोगीको संख्या बढ्दै गएको बताउँदै बढ्नुको कारणबारे भने सरकारले समयमै अनुसन्धान गर्नुपर्ने बताउनुभयो।
नेपाल क्यान्सर सहयोग समूहकी कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठले क्यान्सरविरुद्ध सबैको ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा आफूलाई क्यान्सर भएर निको भएता पनि अन्य क्यान्सर रोगीका लागि सहयोग गर्दै आएका सुनिता चापागाईं र रोज श्रेष्ठका साथै डा. कस्तूरी मल्ललाई स्वरुपा श्रेष्ठले सम्मान गर्नुभयो भने स्तनलगायत अन्य क्यान्सर रोगको उपचार गरी निको भएका र उपचारका क्रममा रहेका क्यान्सर रोगीलाई खादा लगाएर सम्मान गरिएको थियो।

सोही अवसरमा जटिलरूपमा उपचार गराइरहेका बिरामीको सहयोगका लागि आर्थिक सहयोग संकलन गरी सोही अस्पतालमा क्यान्सरको उपचार गराइरहेकी शोभा ओलीलाई उपचार सहयोग स्वरुप ३० हजार रुपियाँ संकलन गरी हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा समूहका कोषाध्यक्ष गणेशभक्त श्रेष्ठले सहयोगी हात र सहयोगले प्राप्त जीवनमाथि प्रकाश पार्नुभएको थियो। स्तन क्यान्सर सचेतना अभियानलाई व्यापक बनाउन नेपाल क्यान्सर अस्पताल परिसरमा द्वीप प्रज्ज्वल गरिएको थियो भने उनीरूलाई सहभागी गराई कात्तिक ८ गते शनिबार खोकनामा हाइकिङ आयोजना गर्न लागिएको समेत जानकारी गराइयो।