मोरङमा करिब ३ लाख बराबरका अवैध कुखुरा नष्ट

0
Shares

न्युज अफ नेपाल,  विराटनगर ।

मोरङको सुनवर्षीमा भारतबाट ल्याएका २ लाख ९३ हजार मुल्य बराबरको अवैध कुखुरा तथा चल्लाहरू नष्ट गरेको छ । वडा नं ८ विश्वकर्मा टोलमा संचालनमा रहेको एउटा कुखुरा फाराममा राखिएका भारतबाट अवैधरुपमा भित्र्याएका कुखुरा तथा कुखुराका चल्लाहरु प्रहरीले नष्ट गरेको छ । बिशेष सूचना एवं निरन्तर निगरानी पश्चात आइतबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङ तथा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले नवि हुसेनको कुखुरा फारमबाट अवैध कुखुराहरु नष्ट गरेको हो ।

सो फारमबाट प्रहरीले भारतबाट अवैध रूपमा ल्याईएको ठूलो साईजको कुखुरा १ सय १० वटा, कुखुराको चल्ला १हजार ५० वटा र केही दिन हुर्केको चल्ला एघार सय वटा बरामद गरी नष्ट गरेको जनाएको छ । पशु क्वारेन्टाईन कार्यालय विराटनगरका प्रमुख चिकित्सक केशवकुमार सिंहको उपस्थितिमा भएको सो कारवाहीमा अन्दाजी २ लाख ९३ हजार मुल्य बराबरको कुखुरा तथा चल्लाहरू नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पटना विहारबाट उत्पादन भएका उक्त चल्लाहरू नेपालमा अवैध रूपमा भित्र्याएको हुनसक्ने बताइएको छ ।

हुसेन लामो समय देखि अवैध भारतीय कुखुराहरू बिक्री वितरणमा संलग्न हुँदै आएको स्थानीय बासिन्दाको उजुरीको आधारमा उक्त अप्रेशन संचालन गरिएको प्रहरीले जनाएको छ ।