दार्चुलाको खलंगामा जन्मेका प्रिन्स दाहाल काठमाडौं आउनु भएपछि नेपाली ब्याडमिन्टनमा उहाँको सफल यात्रा शुरू भयो। १६ वर्षीय प्रिन्सले उमेर समूहका हरेक उपाधि जित्नुभएको छ। ७ वर्षको उमेरदेखि बुबा (नारायण दाहाल)ले खेलेको देखेर ब्याडमिन्टनको र्याकेट समात्नु भएका प्रिन्स अहिले सफल खेलाडी बन्नुभएकोे छ। उहाँले गत साता मात्र पनि माल्दिभ्समा भएको तेस्रो दक्षिण एशियाली यू–२१ क्षेत्रीय ब्याडमिन्टन प्रतियोगितामा रजत पदक जित्नुभयो। यसअघि दुबई र थाइल्यान्ड जुनियर सिरिजमा उहाँले उपाधि जित्नु भइसकेको छ। हाल उहाँ नेपालमै हुने १३औं दक्षिण एशियाली खेलकुद (साग) को तयारीका लागि पोखरामा बन्द प्रशिक्षणमा हुनुहुन्छ। उहाँको लक्ष्य पदक जित्ने नै हो। यसै सन्दर्भमा उहाँसँग नेपाल समाचारपत्रका लागि फिरोज राजोपाध्यायले गरेको कुराकानीको सारसंक्षेप :
१३औं सागको तयारी कस्तो भइरहेको छ ?
तयारी राम्रै भइरहेको छ। तीन सिफ्टमा प्रशिक्षण भइरहेको छ। पोखरा रंगशालाको कभर्ड हलमा हामीले प्रशिक्षण लिइरहेका छौं। बिहान ७ बजेदेखि करिब १ घण्टा रनिङ हुन्छ। यसपछि १० बजेदेखि १२ बजेसम्म कोर्टमा प्रशिक्षण हुन्छ।
अर्को सिफ्ट बेलुकी ५ बजेदेखि ७ बजेसम्म फेरि प्रशिक्षण हुन्छ। सागमा ब्याडमिन्टन खेल पोखरामै हुने भएकोले त्यहाँको मौसमसँग भिज्न हाम्रो प्रशिक्षण त्यहीअनुसार भइरहेको छ। यसले हामी खेलाडीलाई प्रतियोगितामा खेल्न सहज पनि हुनेछ।
सागमा तपाईंबाट स्वर्णको आशा गर्न सकिन्छ ?
अवश्य आशा गर्न सकिन्छ। स्वर्ण जित्न नसक्ने भन्ने होइन। पहिले फाइनल पुगौं, त्यसपछि प्रयास गर्ने हो। मैले लगातार प्रशिक्षण लिइरहेको छु। अर्को आफ्नै घरेलु कोर्ट छ। यी आधारले पक्कै पनि स्वर्ण दिलाउँछ कि भन्ने जस्तो लाग्छ
तर यो पनि साँचो हो कि हाम्रा लागि भारत र श्रीलंकाका खेलाडीसँग कडा टक्कर हुनेछ। उनीहरू धेरै अनुभवी छन्। यसैले स्वर्ण जित्ने पुरै पक्का साथ भन्न पनि सकिंँदैन। तर पदक चाहिँ हासिल गर्छु।
कतै ट्रेनिङ लिनुभएको छ ?
मैले विदेशमा ट्रेनिङ लिएको थिएँ। मैले थाइल्यान्डमा बान्थोङयार्ड ब्याडमिन्टन स्कुलमा एक वर्ष टे«निङ लिएको थिएँ। त्यो ट्रेनिङ मेरो लागि निकै सहयोगी बनिरहेकोे छ।
त्यहाँ सिकेको प्राविधिक कलाले मलाई प्रतियोगितामा खेल्न निकै मद्दत पुर्याएको छ। मलाई लाग्छ प्रत्येक खेलाडीका लागि वैदेशिक प्रशिक्षण अनिवार्य छ। यसले प्राविधिकरूपमा खेलाडीलाई बलियोे तुल्याउँछ।
ब्याडमिन्टनमा कसरी लाग्नुभयो ?
मैले सानै उमेरदेखि ब्याडमिन्टन खेल्न थालेको थिएँ। मेरा बुबा खेलाडी हुनुहुन्छ। उहाँ दार्चुलामा खेल्न जानुहुन्थ्यो। म पनि उहाँसँगै जान्थे। मैले ७ वर्षको उमेरमा र्याकेट समातेको थिएँ। जुन उमेरमा बच्चाहरू खेलौना खेल्ने गर्छन्। मलाई बुबाले नै खेल्न सिकाउनुभएको थियो।
बुबाकै प्रेरणाले मलाई ब्याडमिन्टनमा लाग्न प्रेरित गर्यो। यसपछि २०७० सालमा काठमाडौं आएर प्रतियोगितामा सहभागिता जनाएको थिएँ।
९ वर्षको उमेरमै प्रतिस्पर्धा गरेको तर मैले हार बेहोरेको थिएँ। पछि भने मैले उपाधि जित्दै गएँ र ब्याडमिन्टनमा मेरो करिअर बन्यो।
खेलले पढाइलाई असर परिरहेको त छैन ?
असर त भइरहेको छ। थाइल्यान्डमा २०१८ मा एक वर्ष टे«निङ हुँदा पढाई छुट्यो। म त्यतिबेला ९ कक्षामा थिएँ। मलाई टे«निङ ठूलो जस्तो पनि लाग्यो। यसका लागि पढाइलाई मन मारेर छोड्नुपर्यो। तर अहिले म ललितपुरको बीभीजी डाँफे स्कलमा ९ कक्षामा पढिरहेको छु।
सागको बन्द प्रशिक्षणमा म अहिले पोखरामा छु। स्कुल छुटेको छ तर स्कुलले मलाई सहयोग गरिरहेको छ। साग सकेपछि ट्युसनमा छुटेका पाठहरू पढ्नुपर्छ र एक्जाम दिनुपर्छ। खेलाडीलाई खेल र पढाइ सँगैसँगै लानु धेरै गाह्रो विषय हो।
तपाईंले अन्तर्राष्ट्रिय सिरिजमा कस्तो उपलब्धि हासिल गर्नुभएको छ ?
मैले अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजमा कुल ३ वटा उपाधि जितेको छु। दुबईमा भएको सिरिजमा गत वर्ष र यो वर्ष गरी उपाधि जितेको छु। २०१९ मा भएको थाइल्यान्ड सिरिजमा पनि उपाधि जितें।
हालै माल्दिभ्समा भएको यू– २१ दक्षिण एसियाली क्षेत्रीय ब्याडमिन्टनमा भने म अलि चुकें तर फाइनल सम्म पुग्नु पनि उपलब्धि नै मान्नुपर्छ। हारले मलाई अझ खेल्न प्रेरित गर्छ। अर्को वर्ष उपाधि जित्ने कोशिस गर्नेछु। त्यस्तै गत महिना नेपालमै भएको अन्नपूर्ण अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजमा कांस्य जितेको छु।
घरेलु उपाधि नि ?
नेपालमा मैले यू–१४, यू –१६ र यू–१७ मा उपाधि जितको छु। पुष्पलाल श्रेष्ठ स्मृति ब्याडमिन्टनमा दुई पटक जुनियरतर्फ उपाधि हासिल गरें। यस पटक भने मैले सहभागिता जनाइन। कृष्णमोहन स्मृति ब्याडमिन्टनमा पनि मैले जुनियरमा उपाधि प्राप्त गरेको छु। गत वर्ष यो प्रतियोगितामा पहिलो पटक सिनियरमा खेलेको थिएँ। मैले उपाधि नै जितें।
विदेशमा र नेपालमा कति फरक पाउनुभएको छ ?
विदेशमा हरेक विधाका लागि छुट्टाछुट्टै ट्रेनर हुन्छन्। फिजियो छुट्टै हुन्छन्। फिटनेस प्रशिक्षक छुट्टै हुन्छन्। खेलका लागि दिइने प्रशिक्षक पनि छुट्टै हुन्छन्। भन्नाले विदेशमा अलगअलग प्रशिक्षक हुन्छन्।
जसले खेलाडीलाई मोटिभेट गरिरहेको हुन्छ र सक्षम खेलाडी बन्न सहयोग भइरहेको हुन्छ। नेपालमा पनि हामी खेलाडीका लागि यस्तै भयो भने नेपाली ब्याडमिन्टनले अझै राम्रो गर्न सक्ने मेरो ठम्याइ छ।
नेपाली ब्याडमिन्टनमा कति विकास भइरहेकोे छ ?
अहिले नेपाली ब्याडमिन्टनमा प्रगति भइरहेको छ। नेपाली खेलाडीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेका छन्। विदेशी खेलाडीलाई हराइरहेका छन्।
अहिले युवा खेलाडी पनि धेरै आइरएका छन्। पहिले यस्तो थिएन। युवाहरू यसमा आकर्षित हुनु भनेको नेपाली ब्याडमिन्टनले भविष्यमा अझैं उत्कृष्ट नतिजा निकाल्दै जान सक्नेछ।
तपाईंको भविष्यको लक्ष्य के हो ?
मलाई एउटै लक्ष्य छ एसियाली र ओलम्पिक खेलकुदमा पदक ल्याउनु हो।यो लक्ष्य निकै कठिन पनि छ।यसका लागि मैले निकै मिहिनेत गर्नुपर्छ। अर्को मेरो लक्ष्य भनेको नेपालका नम्बर एक खेलाडी बन्नु हो।
प्रतिक्रिया