सवारी तथा यातायातसम्बन्धी विधेयकको प्रमाणीकरण


पोखरा । गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई हिजो प्रमाणीकरण  गर्नुभएको छ । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले असोज २८ गते प्रमाणित गर्नुभएपछि गण्डकी प्रदेशसभा सचिवालयले प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो ।

नेपालको संविधानको धारा १९९ को उपधारा १ मा प्रदेशसभाले पारित गरेका विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पेश गर्नुपर्ने प्रावधान छ । प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि विधेयक ऐन बन्छ ।